संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको लागि प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले आज पत्रकार सम्मलेन गरेर यस बारेमा जानकारी दिएको हो । मन्त्रालयले समायोजनको लागि कर्मचारीहरुलाई फारम भर्न आह्वान गरेको हो । कर्मचारीहरूले अनलाइनमार्फत् नै समायोजनका लागि आवेदन दिन सक्नेछन् । यसको लागि मन्त्रालयले samayojan.gov.np नामको छुट्टै वेबसाइट संचालनमा ल्याएको छ ।
मन्त्रालयले प्रदेश र स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारीका लागि, साविकमा जिल्ला विकास समितिहरुको सेवामा स्थायी नियुक्ति पाई हाल जिल्ला समन्वय समिति वा कुनै स्थानीय तहमा कार्यरत कर्मचारीका लागि, र अध्यादेश प्रारम्भ हुनुअघि सरकारी सेवामा नियुक्ति भएका तर नयाँ संरचना तथा दरबन्दीमा नपरेका स्थायी कर्मचारीका लागि छुट्टाछुट्टै आवेदन गर्न मिल्ने गरी चारवटा सूचना मन्त्रालयको वेवसाइटमा प्रकशित गरेको छ ।
सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी स्वीकृत समेत गरिसकेको छ । सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी स्वीकृत समेत गरिसकेको छ । जस अन्तर्गत संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दी कायम भएको छ ।
संघीय सेवामा रिक्त हुने पदहरूमा संघीय निजामती सेवासम्बन्धी कानूनमा व्यवस्था भएबमोजिम खुला प्रतियोगिता, आन्तरिक प्रतिस्पर्धा र जेष्ठता तथा कार्य क्षमताको आधारमा हुने बढुवामा समान अवसर दिनेगरी संघीय निजामती सेवा सम्बन्धी ऐनमा आवश्यक व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले तयार गरेको सफ्टवेयरमा कर्मचारीले आफ्नो विवरण इन्ट्री गरेर आफू समायोजन हुन चाहेको तह रोज्न पाउनेछन् । समायोजनको आधार जेष्ठतालाई मानिएकाले जेष्ठ कर्मचारीले रोजेर बाँकी रहेका ठाउँमा मात्र अन्य कर्मचारीको पदस्थापन गरिने छ ।
सरकारी सेवाका कर्मचारीका लागी २१ दिन र सँगठित संस्थाका स्थायी कर्मचारीका लागी १५ दिनको फारम भर्ने म्याद दिएको छ ।