सरकारले भष्ट्राचार नियन्त्रण भइरहेको दाबी गरेपनि सत्तापक्षकै सांसदले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर हुन नसकेको आरोप लगाएका छन् । आइतबार संसदमा भइरहेको नीति तथा कार्यक्रममाथि बोल्दै नेकपाका सांसद तथा पूर्व मन्त्री अग्नि सापकोटाले बालुवाटार, खुल्ला मञ्चदेखि देशैभर भष्टाचार भएको बताएका छन् ।
उनले भने, ‘कहाँ छैन भष्टाचार ? यो बहुआयामिक छ कहाँ छैन भष्टाचार ? कहाँ छ भनेर मलाई नसोध्नुस, कहाँ छैन भष्टाचार ? बालुवाटार, खुल्लामञ्च, पोखरा, जनकपुर कति ठाँउको नाम भनौँ, म हजार ठाउँको नाम भन्न सक्छु । यो बीचमा हाम्रो अन्तर्राष्ट्रिय समितिबाट छानविनका लागि मलाई जिम्मेवारी दिएको थियो, अहिले प्रतिवेदन हामीले बुझाएका छौँ । त्यहाँ खोतल्दै जाँदा यति डरलाग्दो चित्र आउँछ कि यो देशको माया गर्ने कोही छ ?’
उनले कर्पोरेट शैलीमा सरकारी जग्गा हिनामिना भएको बताउँदै एनसेल जस्ता कर्पोरेट हाउसको करछली सामान्य विषय नभएको बताए । उनले सरकार र अदालतलाई समेत प्रभाव पारेर भष्टाचार भइरहेको दाबी गरे ।
उनले भने,‘भष्टाचार नियन्त्रणका लागि कठोर कदम चाल्नुपर्छ । यो दुई तिहाइको सरकारले गलत गर्नेलाई फलामे हात बजारोस् भन्ने जनताले चाहन्छन् ।’
सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेका नाका खोल्ने, सडक विस्तार गर्ने जस्ता धेरै राम्रा कुरा रहेको बताउँदै सापकोटाले अन्तर्राष्ट्रिय प्रचलनको नाममा मौलिकतालाई मास्ने काम गर्न नहुने बताए ।