अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेल भएका विद्यार्थीहरुबाट पैसा लिएर पास गराउने गिरोहलाई नियन्त्रणमा लिएको छ । अख्तियारले परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका प्रमुख रामु कर्मचार्यसहितको टोलीलाई पक्राउ गरेको हो ।
उनीहरुले परीक्षामा फेल भएका विद्यार्थीहरुबाट मोटो रकम लिएर पास गराउने गरेको सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरुको पिछा गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयले लिने परीक्षामा फेल भएका र कम अंक ल्याएका विद्यार्थीलाई बढि अंक थपेर पास गराउने र सो वापत मोटो रकम लिने गिरोह मध्येका दुई जना पक्राउ परेका हुन् ।
अधिवक्ता समेत रहेका विद्यार्थी सुरेन्द्र कोइरालाबाट स्नातकोत्तर तह अर्थशास्त्रमा सबैभन्दा बढि अंक हालिदिन कर्मचार्य र कोइरालाबीच आर्थिक लेनदेन भएको अख्तियारले जनाएको छ । कर्मचार्य गत साता पक्राउ परेका थिए भने कोइराला बुधबार पक्राउ परेका हुन् ।
कोइरालाले यसअघि ४ वटा विषयमा स्नातकोत्तर तह पास गरेका थिए । र, उनी अर्थशास्त्र विषयमा पाटन क्याम्पसमा स्नातकोत्तर तह अध्ययनरत थिए । उनलाई स्नाकोत्तर तहमा ‘गोल्ड मेडलिष्ट’ हुने रहर जागेपछि कोइराला विचौलियामार्फत परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखा प्रमुख कर्मचार्यको सम्पर्कमा पुगेका थिए । मोटो रकमको डिल भएपछि कर्मचार्य कोइरालालाई ‘गोल्ड मेडलिष्ट’ बनाउन तयार भएको भन्दै यो काम रोक्न अख्तियारले दुवैलाई पक्राउ गरेको हो ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित विज्ञान संकायका सहायक डिन शम्भुप्रसाद पट्टेल पनि बुधबारै पक्राउ परेका छन् । विभिन्न कलेजको नविकरण गर्ने क्रममा घुस लिँदालिँदै पट्टेल पक्राउ परेका हुन् । उनलाई अख्तियारको विशेष टोलीले ५० हजार घुस रकमसहित कीर्तिपुरस्थित टयाङलाफाटबाट पक्राउ गरेको हो ।