नेपालको इतिहासमै पहिलोपटक भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषदको बैठक बसेको छ। स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उतैबाट नेपालमा रहेका मन्त्रीहरुलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अघिल्लो हप्ताको बैठकले नेपाल सरकार (कार्यसम्पादन नियमावली) २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडिओ कन्फरेन्सिङ मार्फत बैठक बस्न सक्ने व्यवस्था गरेको थियो ।
यसअघि प्रधानमन्त्रीको अनुपस्थितिमा आपतकालीन अवस्थामा मात्रै मन्त्रीपरिषद् बैठक बस्ने व्यवस्था थियो । तर अहिले भने नियमित बैठक नै बस्न लागेको हो । पहिलो पटक भिडियो कन्फरेन्स मार्फत बैठक बस्न लागेकोले यो ऐतिहासिक बैठक हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनलल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु गरिएको आइतबार जनाएका थिए । प्रधानमन्त्री ओलीलाई गएको बिहीबार उपचारका लागि केहीसाताकै बीचमा दोस्रो पटक सिंगापुर लगिएको हो । त्यसअघि उनी १० दिन सिंगापुरमा उपचारका लागि गएका थिए ।