पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका न्यूज २४ का प्रस्तोता रवि लामिछाने र क्यामराम्यान अनिल ढुंगेलको बयान बाझिएको छ । बयानमा रविले शालिकरामकी प्रेमिका भनिएकी अस्मिता कार्कीलाई नचिनेको बताएका थिए । रविले ‘रुकु’ भन्ने अस्मितालाई आफूले चितवनको थुनुवा कक्षमा मात्रै चिनेको बताएका हुन् ।
रविले सालिकरामको आत्महत्या हुनु केही दिनअघि अस्मिता न्युज २४ को कार्यालयमा आएको र क्यामराम्यान अनिल ढुंगेललाई भेटेर आफ्नो समस्या राखेको भन्ने कुरा आफूले सुनेको बताएका थिए । तर क्यामेराम्यान ढुंगेलले भने रवि लामिछाने र दीपक बोहोराकै सल्लाह अनुसार अस्मितालाई न्यूज२४ को कार्यालय देखिने गरी सेल्फी खिच्न आग्रह गरेको बताएका छन् । ‘तिमी न्यूज२४ गएको कुरा सालिकलाई थाहा होस् र फलो गर्न छोड्ला’ भनेर आफूले पनि अस्मितालाई सेल्फी खिच्न भनेको ढुंगेलले बयान दिएका छन् ।
ढुंगेलले प्रहरीसँगको बयानमा शालिकरामले आत्महत्या गरेको भोलिपल्ट दिउँसो २ः३० बजे दीपक बोहरा र रवि आफै अस्मितालाई भेट्न ग्रिन सिटी अस्पताल पुगेको पनि खोलिदिएका छन् । अस्मिताले पनि घटनापछि आफूलाई न्यूज२४ बाट पटक–पटक फोन आएको बताएकी थिईन् ।
बयानमा अस्मिताले न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा काम गर्ने क्याम्याराम्यान अनिल ढुंगेललाई भेटि शालिकरामले दुःख दिएको घटनाबारे जानकारी गराएको भनेकी छन् ।