बिगत लामोसमयदेखि निर्माणधीन मुलपानी क्रिकेट मैदान (माथिल्लो) को औपचारिक उद्घाटन गरिएको छ। कात्तिक २५ गते सदस्यसचिव ११ र भेट्रान्स ११ टिमबीच मैत्रीपूर्ण खेल आयोजना गर्दै मैदानको शनिबार उद्घाटन गरिएको हो।
'मुलपानी : नेपाली क्रिकेटको भविष्य' लेखिएको जर्सी लगाएर मैदान उत्रिएका दुवै टिममा सिनियर टिमका खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी समावेश थिए। मैत्रीपूर्ण खेल सदस्यसचिव ११ ले ८७ रनले जितेको छ
मैत्रीपूर्ण खेल सम्पन्न भएपश्चात नेपाल राष्ट्रिय टिमका कप्तान पारस खड्काले त्रिभुवन मैदानको विकल्पमा मुलपानी क्रिकेट ग्राउण्ड बनेको प्रतिक्रिया दिए। 'मूलपानि मैदानमा क्रिकेट खेल्ने सपना पुरा भएको छ, अब यसलाई क्रिकेट हवको रुपमा बिकास गर्नु पर्छ' खड्काले भने, 'यसका लागि सरोकारवालाहरुले ध्यान दिन जरुरी छ।'
मुलपानी क्रिकेट मैदान (माथिल्लो) निर्माण सुरु भएको झन्डै १० बर्षपछि खेल्न योग्य बनेको हो। सन २००७ मा निर्माण सुरु भएको यो मैदान १० बर्षपछि खेल्न योग्य बनेको हो।
यो क्रिकेट ग्राउण्ड खेलाडी तथा नेपाल क्रिकेट संघ (क्यान) का कर्मचारीको पहलमा बनाइएको हो। खेलाडी तथा कर्मचारीको पहलमा गत चैतदेखि मैदान निर्माण कार्य थालिएको थियो।
सन २००७ देखि क्यानले मैदान निर्माण थालेपनि क्यानको आन्तरिक किचलोको कारण मैदान निर्माणमा ढिलाई भएको हो। करिब बर्षदिन अघि बिजपाटिले स्थलगत अध्ययन गर्न त्यहाँ पुग्दा मैदान निर्माण कार्य लथालुङ्ग थियो। कसरी भयो मुलपानी क्रिकेट ग्राउण्डको यस्तो अवस्था ?
मूलपानी मैदान निर्माण कार्यमा अहिलेसम्म ७ करोड लगानी भएको बताइएको छ। पेभेलियन निर्माणमा मात्र ४ करोड खर्च भएको छ। सातवटा पिचको बेस भए पनि अहिले चारवटा मात्र पिच बनाइएको छ।
०६६ मा पाकिस्तानी क्युरेटरले मैदानको मध्यभागमा पिच बनाएका थिए। ०६९ मा ६५ लाख लगानीमा पर्खाल बनाएपछि मैदान निर्माणकार्य रोकिएको थियो।
यता,
सरकारले निर्माण गरिरहेको तल्लो मैदानको निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको छ। तल्लो मैदानमा मैदानमा प्याराफिट र पेभेलियन बनाइसकिएको छ। पीच र मैदानको लेकलिङ गर्ने काम बाँकी छ। मैदानको जग्गाको मुआब्जाको विवाद जारी रहेकाले मैदान निर्माणमा ढिलाइ भइरहेको छ।