
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सिरिजको सुखद सुरुवात गरेको हो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ६२ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै कुशलले ४६ बलमा ६२ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
डेब्यू ओपनर आशिफ शेखले ३८ बलमा ५४ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ले ७ बलमा १३ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । नेपालले १५ ओभरमा मात्र १ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र साहब आलमले १/१ विकेट लिए ।