शानदार जितसँगै नेपाल सेमिफाइनल नजिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2022 | 09:47:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सहज जित पाउने अपेक्षा गरिए जसरी नै नेपालले समूहको कमजोर प्रतिद्वन्द्वी फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको शतक, दीपेन्द्र सिंह ऐरीको अर्ध शतक तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतले नेपालले फिलिपिन्सलाई हराएको हो।

शुरूमा ब्याटिङ गरेर नेपालले २१८ रन जोडेको थियो। ८ विकेट गुमाएको फिलिपिन्स ८२ रनमा सीमित भएको थियो। लगातार दुई विजयसँगै नेपाल आफ्नो समूहको शीर्ष स्थानमा पुगेको छ।

अर्को खेलमा ओमानले क्यानडालाई हराएकाले समूह चरणका अन्तिम खेलबाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ। ओमानले क्यानडाविरुद्ध ९ विकेटको फराकिलो विजय पाएको छ।

त्यसकारण सेमिफाइनलमा पुग्ने टोलीको भिडन्त रोचक बन्ने देखिन्छ। नेपालले अब लीगको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ।सो खेलमा नेपालले जित वा उच्च रन रेट बनाउन आवश्यक हुनेछ।

खुलेको ब्याटिङ

अनुमान गरिए झैँ नेपाली खेलाडीले कमजोर फिलिपिन्सविरुद्ध खुलेर ब्याटिङ गरे। मस्कटको ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेलेर ३ विकेटको क्षतिमा २१८ रन बनायो।

आक्रामक प्रारम्भिक ब्याटर कुशल भुर्तेलले शानदार शतक प्रहार गरे।

फिलिपिन्सविरुद्ध खेलमा जितेको नेपाल

उनीहरूले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित शतकीय इनिङ खेले। ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका उनी अन्तर्राष्ट्रिय टी २० शतक बनाउने नेपालका तेस्रा खेलाडी बने।

उनका प्रारम्भिक जोडी आशिफ शेख भने गोल्डन डक आउट भए। पहिलो बलमा नै क्रस शट खेल्ने क्रममा उनी आउट भएका थिए। कुशलपछि दीपेन्द्रसिंह ऐरी ८३ रनमा आउट भए। उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए।

कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १ सय ७१ रनको शतकीय साझेदारी गरे। यो नेपाली टी २० आईमा कुनै पनि विकेटका लागि भएको ठूलो साझेदारी बन्यो।

आशिफपछि आएका कुशल मल्लले १२ रन बनाए। पाँचौँ ओभरमा उनी मिग्गी पोडोस्कीको शिकार भए। लोकेश बमले अविजित ६ रन बनाए।२१८ रन नेपालले टी २० क्रिकेटमा बनाएको तेस्रो उच्च स्कोर हो।यसअघि नेपाली टोलीले काठमाण्डूमा नेदरल्याण्ड्सविरुद्ध सर्वाधिक २३८ रन जोडेको थियो।

त्यस्तै १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालले भुटान विरुद्ध कीर्तिपुरमै २३६ रन बनाएको थियो।

कसिलो बलिङ

फिलिपिन्सलाई सस्तैमा समेट्न नेपाली बलरहरूले कसिलो बलिङ गरे। उनीहरू लगातार जस्तो विकेट लिन सफल भएका थिए।चार ओभर बलिङ गरेका कप्तान सन्दीप लामिछानेले जम्मा ९ रन खर्चिएर तीन विकेट लिए।

जितेन्द्र मुखिया, गुलशन झा, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

गुलशनको 'डेब्यू', शरद बाहिर

भेट्रान ब्याट्सम्यान शरद भेषावकरले टी २० विश्वकप छनोट गुमाएका छन्। उनको घुँडामा चोट लागेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ।चार देशीय शृङ्खला खेल्ने क्रममा उनलाई चोट लागेको थियो। ओमान विरुद्धको पहिलो खेलमा पनि उनी 'प्लेइङ ११' मा थिएनन्।

उनको स्थानमा कुशल मल्ल टीममा प्रवेश गरेका छन्। चार देशीय शृङ्खलामा ९ रन मात्र बनाएका उनी टोलीबाट बाहिरिएका थिए। 

फिलिपिन्सविरुद्ध तेज बलर गुलशन झाले टी२० क्रिकेटमा राष्ट्रिय टोलीमा पहिलो खेल खेलेका थिए। करण केसी घाइते भएर ओमानबाट फर्केपछि उनको स्थानमा झा टीममा समावेश भएका हुन्।

झाले यसअघि ओमानमै भएको विश्वकप लीग २ मा एक दिवसीय क्रिकेटमा पहिलो पटक अवसर पाएका थिए। अमेरिका विरुद्धको सो खेल खेलेसँगै उनी एक दिवसीय क्रिकेटमा पहिलो पटक खेल्ने एसोसियटका तर्फका कान्छा खेलाडी बनेका थिए।

त्यति बेला उनी १५ वर्ष २ सय १२ दिनका थिए।

कुशलको कीर्तिमान

ओमानमा भइरहेको क्रिकेट विश्वकप छनोट खेलमा फिलिपिन्स विरुद्ध भएको खेलमा शतक बनाएपछि खुशी साट्दै नेपाली खेलाडी कुशल भुर्तेलछोटो समयमा आक्रामक ओपनरको छवि बनाएका कुशल भुर्तेल टी २० क्रिकेटमा शतक प्रहार गर्ने नेपालका तेस्रो खेलाडी बनेका छन्।

ओमानमा शनिवार भएको आइसीसी टी २० विश्वकप ग्लोबल छनोटमा उनले फिलिपिन्स विरुद्ध उक्त उपलब्धि हात पारेका हुन्।नेपालबाट पारस खड्का टी २० मा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। सन् २०१९ मा उनले सिंगापुरविरुद्ध उनीहरूकै मैदानमा उक्त कीर्तिमान रचेका थिए।

खड्काले ५२ बलमा अविजित १०६ रन बनाएका थिए।त्यस्तै ज्ञानेन्द्र मल्लले नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद सागका दौरान शतक प्रहार गरेका थिए।

भुटान विरुद्धको खेलमा उनले ५५ बलमा १०७ रन बनाएका थिए। कुशल भुर्तेलले भने ५७ बलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरे।उनले कुल ६१ बल खेल्ने क्रममा १३ चौका र एक छक्का हानेर १०४ रनमा अविजित रहे। ३२ बलमा उनले अर्ध शतक पूरा गरेका थिए।

ओपनरका रूपमा आएका भुर्तेलले पूरा २० ओभर खेले। ओपनर साथी आशिफ शेख 'गोल्डन डक आउट' भएपछि भुर्तेलले कुशल मल्लसँग दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरे।

तेस्रो विकेटका लागि भने उनले दीपेन्द्र सिंह ऐरीसँग १ सय ७१ रनको शतकीय साझेदारी गरे, जुन टी २० आईमा नेपालको कुनै पनि विकेटको ठूलो साझेदारी पनि हो।

काठमाण्डूमा गत अप्रिलमा सम्पन्न थ्री नेसन्स कपमा लगातार तीन अर्ध शतक प्रहार गरेपछि भुर्तेल नेपाली क्रिकेटमा उदाएका थिए। त्यो उपलब्धि सँगै राष्ट्रिय टोलीमा लामो समयदेखि समस्याको रूपमा रहेको ओपनिङ जोडीमा भुर्तेल र आशिफ शेख स्थापित भएका थिए। -बिबिसीबाट 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved