नागरिक एप: त्रुटि भएको नागरिकताको विवरण सच्याउने प्रविधि तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2021 | 11:06:07 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक एप प्रयोगकर्ताले नागरिकताको विवरणमा त्रुटि भएको गुनासो गरेपछि गृह मन्त्रालयले त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गरेको छ । गत माघ २ गतेबाट परीक्षणको रुपमा बेटा भर्सनमा सार्वजनिक गरेको उक्त एपमा धेरै व्यक्तिले नागरिकताको विवरण भेरिफाइ नभएको गुनासो गरेपछि मन्त्रालयले सच्याउन सकिने प्रविधिको विकास गरेको हो । 

एप प्रयोगकर्तामध्ये धेरैले गुनासो गरेपछि यसअघि नै गृह मन्त्रालयले एक सूचना प्रकाशन गर्दै नागरिकताको विवरणमा गल्ती भए आफैँले सच्याउन आग्रह गर्नसक्ने प्रविधिको विकास गर्ने जनाएको थियो । गृह मन्त्रालयले त्रुटि सच्याउन आवश्यक प्रविधि तयार गरेर हाल परीक्षण गरिरहेको जानकारी आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीहरु बताउँछन् ।

केन्द्रका सूचना अधिकारी रमेश पोखरेल अब केही दिनमा नै उक्त प्रविधिमार्फत त्रुटि भएको नागरिकताको विवरण अनलाइन मार्फत सच्याउन सकिने बताउँछन् । उनका अनुसार उक्त सिस्टम बाट एप प्रयोगकर्ताले नागरिकताको विवरण प्रमाणीकरणका लागि अनलाइन मार्फत अनुरोध गर्नसक्नेछन् । 

एपमा राखिएको इडिट अपशनमा क्लिक गरिसकेपछि आवश्यक विवरण भरेर आफ्नो नागरिकताको दुवैतर्फबाट फोटो खिचेर सच्याउनका लागि अनुरोध गर्न सकिनेछ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उक्त प्रविधिमा जोडिर नागरिकताको विवरण भेरिफाइन गर्नमिल्ने गरि प्रविधिको तयार भएको छ ।

एपका प्रयोगकर्ताको गुनासो र सम्बन्धीत जिल्ला प्रशासन कार्यालयको रेकर्डमा रहेको विवरणका आधारमा गलत विवरण (नाम गल्ती भएमा) सच्याउने, नयाँ राख्ने लगायतका कामहरु हुनेछ । नयाँ विवरण राख्ने तथा सच्याउने लगायतका काम गर्न गृह मन्त्रालयले सम्बन्धीत जिल्ला प्रशासनका अपरेटरलाई तालिम तथा सहजिकरण लगायतका कामका लागि प्रशासनिक प्रक्रिया सुरु भैसकेको जनाईएको छ । 

परीक्षणका रुपमा सञ्चालनमा ल्याईएको उक्त एपमा हाल ९ वटा फिचर राखिएको छ । सुरुवाती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ ।

अब उक्त एपमा मालपोत सेवा, सवारी चालक अनुमति पत्र, सरकारी कर, बैंकिङ तथा वित्तीय संस्थाको सेवासहितका एक सयभन्दा बढी सेवा राखिने तयारी छ । केन्द्रले अबको दुई वर्षभित्रै सबैजसो सरकारी सेवा लिन सक्ने गरी एप विकास गरीसक्ने तयारी भएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved