पोखरामा ‘माउण्टेन क्रस कन्ट्री रेस’ प्रतियोगीता हुँदै, जहाज चार्टड गरेर आउँदै चिनियाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 01:50:17 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगीता (अन्तराष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस) आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा मंसिर ९ गते पोखरामा उक्त प्रतियोगीता हुन लागेको हो ।

नेपालको पर्यटन प्रर्वद्धनका लागि आयोजना गरिने प्रतियोगीतामा नेपाली १० टिम र चीनका १० टिम सहभागी हुनेछन् । एउटा टिममा ३ जनाका दरले प्रतियोगीतामा ६० जना सहभागी हुनेछन् । 

यसअघि सन् २०१९ मा पोखरा अन्तराष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड–१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता हुन सकेको थिएन । यो प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलाइन्सको जहाज चार्टड गरी चिनियाँ खेलाडी, अफिसियल र अन्य पाहुना गरी १०४ जना चिनियाँ पोखरा आउँदैछन् । उनीहरु चीन सरकारकै सहयोगमा चार्टड उडानमार्फत् पोखरा आउन लागेका हुन । 

प्रतियोगीतामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार बाराहीघाटबाट सुरू हुने प्रतियोगीता डेभिड फल्स हुँदै विश्वशान्ति स्तुप पुगेर फेवातालमा बोटिङ गरी फेरि बाराहीघाट आएर अन्त्य हुनेछ । नेपाल र चीनका खेलाडीबीच हुने मैत्रीपूर्ण प्रतिस्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगीता ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट ५ किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटर दौड प्रतियोगीता पनि राखिएको छ । 

नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगीताका प्रथम हुने टिमले ३ लाख ६० हजार रुपैयाँ, दोस्रोले २ लाख ८८ हजार रुपैयाँ, तेस्रोले २ लाख १६ हजार रुपैयाँ, चौथो टिमले १ लाख ४४ हजार रुपैयाँ र पाँचौं हुने टिमले ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत स्पर्धामा प्रथमले १ लाख ४४ हजार रुपैयाँ, दोस्रोले १ लाख ८ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत स्पर्धामा चौथोदेखि १० औं तहमा आइपुग्ने धावकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

यस्तै, विद्यार्थीको प्रतिस्पर्धामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रतियोगिता सफल बनाउन विभिन्न  २२ वटा उपसमिति गठन गरिएको छ । यसअघि असार ८ र ९ गते पोखरामा आयोजित चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडी विमान चार्टड गरी पोखरा आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved