
पहाड र हिमालतिर यतिबेला लालीगुँरास ढकमक्क फूलेका छन् । उच्च भेगमा फूलेका ती लेकाली फूलले वसन्त ऋतुको आगमन भएको प्रष्ट्याईरहेका छन् । हिउँद लागेसँगै बोटविरुवाका पातहरु झरेर उजाड देखिन्छन् । तर अहिले ती विरुवाले नयाँ पालुवा हालिसकेका छन् । राजधानीको सडक पनि विभिन्न फूलले मगमगाईरहेको छ ।
चैत्र महिनाको मध्य समय, गर्मीले आफ्नो प्रभाव जमाउँदैछ । काठमाडौँका सडक किनारमा÷छेउमा रोपिएका चेरीका विरुवाहरु हलक्क बढेका मात्रै छैनन्, ती विरुवाहरु ढकमक्क फूलेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलदेखी तीनकुनेसम्मको सडकको छेउमा फूलेका यी विरुवाहरुले सिङ्गो काठमाडौँमा आफूहरुलाई रोपण गर्न भनिरहेका छन् जस्तो लाग्छ ।
अघिपछि निकै धुलाम्य हुने चक्रपथ परिक्रमा अन्तर्गतको यो करिब दुई किलोमिटर सडक वसन्त ऋतुमा भने हेर्न लायक बनेको छ । यो समयमा नेपाल आउने पर्यटकले विमानस्थलको गेटमै यस्ता सुन्दर फूल फूलेका विरुवाहरु देख्न पाएका छन् । पर्यटनविद् रामचन्द्र कुँवर बाह्रै महिना फूल्ने थरीथरीका विरुवा लगाएर काठमाडौँ सुन्दर बनाउन सकिने बताउँछन् ।
तस्बिरः फोटोग्राफर रोशन