उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समिति ललितपुरले विभिन्न औषधि पसलबाट मास्क जफत गरेको छ । समितिले टाइम मेडिकेयर फार्मेसीले ३० रुपैयाँ पर्ने मास्कलाई एक सयमा बेच्ने गरेको पाइएको समितिले जनाएको छ ।
त्यस्तै, पाटन अस्पताल नजीकै सञ्चालित जिपिपी म्यानकाइण्ड प्रालिले कपडाको मास्क साधारण खरीदको बिल समेत पसलमा नराखी २५ रुपैयाँमा बेच्नुपर्ने मास्कलाई ५० रुपैयाँ लिएर बेचेको पाईएकाले अनुगमन समितिले २२ थान मास्क जफत गरेको छ । बजारमा मास्क तथा औषधिको मूल्य वृद्धि र अभाव भएसँगै उचित मूल्य निर्धारणका लागि आज १२ पसलमा अनुगमन गरिएको समितिले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रजिअ खेमप्रसाद भुसालले मुलुकमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएको हुँदा आगामी दिनमा सञ्चालकलाई उचित मूल्य लिन तथा सबै वस्तुको खरीदको बिल, प्यान तथा भ्याट राख्न आग्रह गरे । अनुगमनमा समिति विभागका कर्मचारी रेवती ज्ञवाली, विष्णुप्रसाद शर्मा र विकल श्रेष्ठलगायत उद्योग वाणिज्य सङ्घ ललितपुरकी गीता न्यौपाने, प्रहरी प्रभाग लगनखेलका प्रहरी सहायक निरीक्षक रामशर्मा न्यौपाने थिए ।