भदौ १ गतेदेखि पाचौँ चरणको उद्धार उडान सुरु हुने भएको छ । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले पाचौँ चरणको उद्धार तालिका सार्वजनिक गरेका हुन् ।
शुक्रबार निगम र हिमालयले विभिन्न देशमा गरिने उद्धार उडान सार्वजनिक गरेका छन् । निगमले १७ अगष्टदेखि ३१ अगष्टसम्म र हिमालयले १६ देखि ३० अगष्टसम्मका उडान तालिका सार्वजनिक गरेको हो।
हिमालयले आईतबारदेखि क्वालालम्पुर, कतार, साउदी अरेबिया, कुवेत, युएईमा १५ चार्टर उडान गर्ने भन्दै शुक्रबार उडान तालिका सार्वजनिक गरेको हो । हिमालयका अुनसार अगष्ट १६, १८ र २० तारिखमा मलेशियाको क्वालालम्पुरमा ३ उडान, अगष्ट १७, २३ र २९ तारिखमा दोहा कतारमा तीन उडान, अगष्ट १९, २२, २५ र २७ तारिखमा साउदी अरेबियाको दमामका लागि ४ उडान हुने छ । यसैगरी अगष्ट २१ तारिखमा कुवेतका लागि एक उडान, अगष्ट २४, २६, २८ र ३० तारिखमा यूएईको अबुधाबीमा चार चार्डड उडानको तालिका हुने छ।
चार्टर उडान मार्फत बिहीबारसम्म विभिन्न देशबाट ५० हजार ४ सय १३ नेपालीको उद्धार भइसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकानुसार सबैभन्दा धेरै यूएईबाट १४ हजार ६५ जना नेपाली घर फर्किएको तथ्यांक रहेको छ ।