काठमाडौँ महानगरले १० वटा अस्पतालको फोहोर नउठाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 09:11:42 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले १० वटा अस्पतालको फोहोरो नउठाउने भएको छ । संक्रमित फोहोर निसंक्रमण नगरिएका कारण  फोहोर संकलनमा रोक लगाएको अस्पतालहरुको संख्या १० पुगेको महानगरले जनाएको छ ।

महानगरका अनुसार सोमबार वडा नं. १३ मा रहेको कालीमाटी चेस्ट अस्पताल र वडा नं. १२ को बुद्धमाई अस्पतालको फोहोर संकलनमा रोक लगाएसँगै यस्ता अस्पतालको संख्या १० पुगेको हो । यस अघि महाराजगञ्ज - बसुन्धरा - सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, विपी स्मृति अस्पताल,  कान्तिपुर डेन्टल अस्पताल, चावहिलको ओम र दीर्घायु गुरु अस्पताल, कलंकीको सहिद मेमोरियल र नेपाल नेशनल अस्पताल, महाराजगञ्जको कान्ति बाल अस्पतालको फोहोर संकलन रोकिएको छ । 

स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनमा अहिलेसम्म देखिएको अवस्थाका विषयमा प्रतिक्रिया दिँदै महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले भनिन् , ‘अस्पतालहरुको फोहोर संकलनमा रोक लगाउन नपरोस्, भन्ने हाम्रो चाहना हो । एक ठाउँको गल्तीले वातावरण र मानव स्वास्थ्यका क्षेत्रमा गम्भीर संकट आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्रुटि देखिएका अस्पतालहरुको फोहोर संकलनमा रोक लगाएका छौँ । फोहोर रोक लगाइएका अस्पतालहरुलाई निर्देशनबमोजिम सुधार गर्न र अन्य अस्पतालहरुलाई प्रचलित मापदण्डबमोजिम काम गर्न (ताकि अस्पतालको फोहोर व्यवस्थापन चक्र नियमित होस् । यसबाट कोही कसैलाई प्रभाव नपरोस् ।) आग्रह गर्दछु ।’

महानगरका अनुसार सोमबार सोल्टी मोडको स्पार्क हेल्थ होम अस्पताल, कालीमाटीको कालीमाटी चेस्ट अस्पताल र टेकुको वुद्धबारी अस्पतालको अनुगमन गरिएको थियो । यी अस्पतालहरु क्रमशः २४, २५ र १५ वेडका अस्पताल हुन् । हेल्थ होम फिजियोथेरापी सेवामा केन्द्रीत भएकोले कम हानीकारक फोहोर उत्पादन हुने देखियो । यस अस्पतालबाट उत्पादन हुने डाइपर व्यवस्थापन गर्न, फोहोरको मात्रा अभिलेखन गर्न, अक्युप्रेसरका लागि प्रयोग भएका सुइहरुको निर्मलीकरण गर्न निर्देशन दिइएको वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिइन् । 

कालीमाटी चेस्ट अस्पतालमा क्षयरोगका विरामीहरु उपचारका लागि आउने गरेका छन् । यहाँको प्रयोगशालामा पुग्ने नमूना र त्यहाँबाट उत्सर्जन हुने फोहोर निर्मलीकरणको पद्धति राम्रो देखियो । प्रयोगशाला जति राम्रो छ, अन्य स्थानबाट उत्पादन हुने फोहोरको वर्गीकरण, भण्डारण र निर्मलीकरण त्यत्तिकै अव्यवस्थित छ । वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैया महर्जनले कन्टेनरमा मिश्रित फोहोर देखिएकोले संकलनमा रोक लगाइएको बताईन्।      

टेकुमा रहेको वुद्धबारी अस्पतालको नर्सिङ् स्टेशनमा मेडिसिन ट्रली छैन । भित्री कक्षहरुमा फोहोर हाल्ने बाल्टिन छैनन । सबै फोहोर फाल्न बाहिर राखिएका बाल्टिनसम्म आइपुग्नु पर्ने अवस्था छ । वाहिर रंग संकेत अनुसारका बाल्टिन राखिएको छैन । अस्पतालका प्रमुख प्रशासकीय राजेश तण्डुकारले हानीकारक फोहोर प्रदर्शनी मार्गको काठमाडौँ मोडेल अस्पतालसँग सम्झौता गरेर व्यवस्थापनका लागि त्यतै पठाउने गरेको बताए । उनीबाट सूचना पाएलगत्तै वातावरण निरीक्षक श्रेष्ठले मोडेल अस्पतालकी नर्सिङ् प्रमुख राधिका घिमिरेलाई फोन सम्पर्क गर्दा घिमिरेले, फोहोर व्यवस्थापनका लागि आफूले कसैसँग सम्झौता नगरिएको बताईन् । कुराकानीका क्रममा तण्डुकारले, कार्टुनमा प्याक गरेर निजी गाडीमा हानीकारक फोहोर मोडेल लैजाने गरिएको बताएका थिए ।  

आजसम्ममा ३० वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन भइसकेको महानगरले जनाएको छ । महानगरका अनुसार फोहोर वर्गीकरण गर्ने बाल्टिनहरुको रंग संकेत नमिल्नु, स्रोतमा फोहोर वर्गीकरण नगर्नु, बाल्टिनको फोहोर सुरक्षित ढुवानी र भण्डारण नहुनु, संक्रमित फोहोर निर्मलीकरण अगाडि नै वर्गीकरण गर्न, फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, तरल फोहोर प्रशोधन, प्रयोगशालाको फोहोर, अपरेशनपछिको फोहोर र म्याद सकिएको औषधिको व्यवस्थापनमा अस्पतालहरुमा देखिएका समान समस्या हुन् । 


 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved