संसदबाट अनुमोदन भयो बिम्स्टेक बडापत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 04:29:08 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको ‘बिम्स्टेक बडापत्रलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

 बिम्स्टेक बडापत्रको प्रावधानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री श्रेष्ठले बिम्स्टेकको आवश्यकता र यसको बडापत्रको अनुमोदनका सन्दर्भमा सांसदले राखेका विषयसँग सरकार सहमत रहेको बताए । बहुपक्षीय र क्षेत्रीय सङ्गठनमा नेपालले आफ्नो सहभागिता जनाउँदै त्यसमा सकारात्मक भूमिका खेल्दै आइरहेको उल्लेख गर्दै उनले संयुक्त राष्ट्र सङ्घजस्ता बहुपक्षीय विश्व संस्थामा नेपालको सहभागिता रहँदै आएको बताए  ।

 “क्षेत्रीय सङ्गठनलाई पनि आफ्नो सहभागितासहित प्रभावकारिता बनाउने दिशातर्फ प्रयत्न गरिरहेका छौँ”, उनले भने “आफ्नो मुलुकको हित देख्ने मञ्चमा सहभागिता जनाउने र भूमिका खेल्ने हो ।” दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई सक्रिय बनाउन नसकिएको यथार्थ सुनाउँदै सार्कलाई प्रभावकारी बनाउन थप पहलकदमी लिइने प्रतिबद्धता व्यक्त गरे  । 

“बिम्स्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन । सार्कलाई निष्क्रिय बनाउने बिम्स्टेक चलाउने विषयमा नेपाल सहमत छैन”, उनले भने, “हामी सार्कलाई प्रभावकारी बनाउने पक्षमा छौँ, अध्यक्षको हैसियतमा सक्रिय भूमिका खेल्नेछौँ ।”

 सन् २०२२ मा श्रीलङ्कामा भएको पाँचौँ शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै उनले संसद्बाट अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा जाने स्पष्ट व्यवस्था रहेको बताए । “नेपालबाहेक छ सदस्य मुलुकले संसद्बाट यो बडापत्रलाई अनुमोदन गरिसकेको सूचना प्राप्त भएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने , “नेपालले अनुमोदन गरेको ३०औँ दिनपछि बडापत्र कार्यान्वयनमा जाने प्रावधान छ ।”

 नेपालको संविधानको धारा, २७९ को (१) मा नेपाल पक्ष हुने सन्धि सम्झौताको अनुमोदन सङ्घीय कानुनबमोजिम हुने व्यवस्था रहेको छ । नेपालको सन्धि ऐन, २०२७ को दफा ४ मा नेपाल सरकार, मन्त्रिपरिषद्ले बडापत्र अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले सोही व्यवस्थाअनुसार बिम्स्टेक बडापत्र अनुमोदनका लागि संसद्मा पेस गरेको हो ।

 आर्थिक उन्नयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व र कनेक्टिभिटी जस्ता मुद्दामा क्षेत्रीय सहकार्य गर्ने उद्देश्यले सन् १९९७ मा बिम्स्टेकको गठन भएको थियो । बङ्गालको खाडी क्षेत्रमा रहेका पाँचवटा दक्षिण एसियाली राष्ट्र र दक्षिण पूर्वी एसियाली क्षेत्रका दुई राष्ट्रको सङ्गठन हो । बिम्स्टेकमा बङ्गलादेश, भूटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् । नेपाल सन् २००४ मा बिम्स्टेकको सदस्य बनेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved