टेक पिक नेपाल सम्पन्न, सूचना प्रविधिका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2024 | 05:20:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सूचना प्रविधि क्षेत्रलाई लक्षित गरी आज काठमाडौँ आयोजना भएको  टेक पिक नेपाल, २०२४ मा सहभागीहरुले सूचना प्रविधिका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । नास–आईटी, अमेरिकन चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ (सीएनआई)को संयुक्त आयोजनामा सुरु टेक पिकमा दुई सयभन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अभ्यासकर्ता, विज्ञ, र सरकारी अधिकारीहरुको सहभागिता थियो ।

सो अवसरमा सहभागी सरोकारवालाहरुले नेपालमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गर्दै थप लगानीको आवश्यकता औँल्याएका थिए । उनीहरुले रोजगारी सिर्जना र मुलुकको अर्थतन्त्रको विकासका लागि सूचना प्रविधिको प्रयोगमा बढावा दिनुपर्ने जोड दिए ।

“हामी सबैले सूचना प्रविधि क्षेत्रको विकासको लक्ष्य लिएका छौँ । सूचना प्रविधिको प्रयोगमार्फत डिजिटल अर्थतन्त्रको विकासतर्फ हामी लागेका छौँ । यस अवसरलाई सदुपयोग गर्दै स्थानीय नवप्रवर्तनबीच सम्बन्ध बढाउन, फार्म स्थापना तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ । साथै आगामी वैशाखमा हुन लागेको नेपाल लगानी सम्मेलन, २०२४मार्फत पनि हामीहरु सहकार्य गर्न सक्छौँ”, सीएनआईका उपाध्यक्ष हेमराज ढकालले भने ।

डिजिटल युगतर्फ प्रवेश गर्दा प्रविधिको परिवर्तनकारी प्रभावलाई कसैले रोक्न नसक्दै भन्दै ढकालले सूचना प्रविधिको प्रयोग यतिबेला सबै क्षेत्रका लागि अत्यावश्यक भइसकेको बताए । “अधिकांश व्यवसाय सूचना प्रविधिमा निर्भर हुने अवस्था आएको छ । जसका कारण बजारको आयाम नै परिवर्तन भएको छ । सूचना प्रविधिको प्रयोगबाट विभिन्न आविष्कारका साथै रोजगारी सिर्जनाका साथै अर्थव्यवस्था र बजार प्रणालीबीच परस्पर निर्भरता पनि बढाएको छ”, उनले भने ।

नेपाल पनि विश्वमञ्चमा सूचना प्रविधिको अभ्यासकर्ताका रुपमा उदयीमान शक्तिशाली मुलुक भएको भन्दै उनले सूचना प्रविधि र अंग्रेजी भाषामा पोख्त नेपालको ठूलो युवाजनशक्ति त्यसको आधार भएको बताए ।

हालैको एक अध्ययनले मुलुकको विकासमा सूचना प्रविधिको ठूलो योगदान रहेको देखाएको उल्लेख गर्दै उपाध्यक्ष ढकालले सूचना प्रविधिको क्षेत्रले परम्परागत पर्यटन क्षेत्रबाट हुने आम्दानीको स्थान लिन थालेको बताए । यस परिवर्तनले नेपालको अर्थतन्त्रका लागि सूचना प्रविधिको प्रयोग महत्वपूर्ण रहेको देखिएको भन्दै उनले यसको पूर्ण उपयोग भने गर्न नसकिएको धारणा राखे ।

इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले गरेको एक अनुसन्धानमा सूचना प्रविधि क्षेत्रको निर्यातबाट नेपालले सन् २०२२ मा ५१ करोड ५० लाख ५० हजार डलर आम्दानी गरेको थियो । जुन अन्य क्षेत्रको तुलनामा धेरै हो ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले सूचना प्रविधि निर्यातको बलियो सम्भावना भएको क्षेत्र भएको भन्दै यसले मुलुकको समृद्धि हासिल गर्नमा सहयोग गर्न सक्ने धारणा राखे ।

“सूचना प्रविधिको पूर्ण उपयोगका लागि हामीले यस क्षेत्रमा लगानी बढाउन सक्नुपर्छ । नेपालमा डिजिटल क्षेत्रको जग बसाल्नका लागि यो निकै महत्वपूर्ण छ । हामीले आइटीमा लगानी बढाएर मुलुकको डिजिटल ग्यापलाई कम सक्छौँ”, उनले भने ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले भने, “सन् २०२२ मा नेपालले सूचना प्रविधिसँग सम्बन्धित वस्तु  तथा सेवा निर्यातबाट ५१ करोड डलरभन्दा बढी आर्जन गर्नुले नेपालमा यसको सम्भावनालाई दर्शाउँछ । यो मुलुकबाट निर्यात हुने सेवा तथा वस्तुको क्षेत्रमा अगाडि देखिएको छ ।” अग्रवालले सफ्टवेयर विकास र डिजिटल सेवाको आउटसोर्सिङमार्फत देखिएको निर्यातको सम्भावनाले मुलुकभित्रको सूचना प्रविधिका दक्ष जनशक्ति र क्षमतालाई पुष्टि गरेको बताए ।

पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमार्फत नेपालीहरुले विश्वमञ्चमा आफ्नो क्षमता देखाउन पाएको बताउँदै अध्यक्ष अग्रवालले विश्वमा नेपाल सूचना प्रविधिको क्षेत्रमा मुख्य खेलाडीका रुपमा उपस्थिति जनाउन सक्नेतर्फ संकेत गरे । उनले मुलुकभित्र सूचना प्रविधिको प्रयोगले नेपालको अर्थतन्त्रको विकासका साथै नेपाललाई विश्वभर चिनाउन पनि सहयोग पुगेको बताए ।

अमेरिकन चेम्बर अफ कमर्शका अध्यक्ष निर्मलकाजी श्रेष्ठले भने, “हामीले सूचना प्रविधिलाई मुख्य क्षेत्रका रुपमा पहिचान गरी यसैमा केन्द्रित भएका छौँ, हामीसँग जहिले पनि पर्यटन, जलविद्युत् र सूचना प्रविधिलाई प्राथमिकतामा राखेका छौँ । त्यसमा पनि सूचना प्रविधिको क्षेत्र हाम्रा लागि सबैभन्दा महत्वपूर्ण छ ।” उनले अमेरिकन चेम्बर अफ कमर्शका ५० सदस्यमध्ये ३० प्रतिशत सदस्य सूचना प्रविधिको क्षेत्रमा कार्यरत रहेको जानकारी दिए ।

सो अवसरमा सहभागीहरुले विभिन्न चुनौतीका बाबजुद सूचना प्रविधिको विकास भइरहेको बताएका थिए । साथै यस क्षेत्रमा लगानी बढाएर यसको विकासमा सहयोग गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

नेपाल सरकारले ज्ञानमा आधारित अर्थतन्त्रको विकासमा जोड दिँदै आएको छ । हालै मात्र सरकारले डिजिटल नेपाल फ्रेमवर्क लागू गरी निजी क्षेत्रको सहकार्यमा सामाजिक–अर्थतन्त्र निर्माणमा अगाडि बढेको छ । सूचना प्रविधि र बिजनेश प्रोसेस आउटसोर्सिङ (बीपीओ) क्षेत्र मुलुकको निर्यात रणनीति निर्माण तथा शतप्रतिशत स्वामित्व, ट्याक्स होलिडेज, प्रतिष्पर्धी कर्पोरेट करलागयतका माध्यममार्फत नेपालमा विदेशी लगानी ल्याउनका लागि सहयोगी मानिएको जनाइएको छ । यसले नेपालमा हाइ टेक स्टार्टअप र व्यवसाय प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका समेत निर्वाह गर्ने जानकारहरुको भनाइ छ ।

यद्यपि अझै पनि सूचना प्रविधिको क्षेत्रमा प्रतिबद्धता गरिएअनुसारको आन्तरिक र विदेशी लगानी भने नआएको पाइएको छ ।

सो अवसरमा प्रमुख वक्ता समेत रहेका नासकम, इन्डियाका सहसंस्थापक तथा पहिलो निर्वाचित अध्यक्ष हरिस मेहेताले सूचना प्रविधिको प्रयोगमार्फत प्राप्त सफलताको अनुभव सुनाएका थिए । उनले यदि सबैको सहकार्य भएमा सूचना प्रविधिको क्षेत्रमा सफलता मिल्नेमा जोड दिएका थिए ।

परिसंघका आईटी काउन्सिलका अध्यक्ष अजित शाहले नेपालमा विश्वका आठ ठूला शिखर भएको उल्लेख गर्दै सूचना प्रविधिलाई नवौं शिखरका रुपमा लिएर काम गर्नुपर्नेमा जोड दिए । उनले यस  क्षेत्रको विकासका लागि सामूहिक प्रयासमामार्फत  उक्त सफलता हासिल हुने धारणा राखे ।

सो अवसरमा सहभागीहरुले आइटी कम्पनी, नीति निर्माता, शिक्षण संस्थाबीचको दूरी कम गर्न आवश्यक भएको भन्दै उपयुक्त वातावरण भएमा मुलुकले सामाजिक अर्थतन्त्रको क्षेत्रमा ठूलो सफलता प्राप्त गर्नसक्नेतर्फ जोड दिएका थिए ।

त्यसअवसरमा ‘ब्राण्ड नेपाल’ विषयलाई विशेषरुपमा उठान गरिएको थियो । नेपाली कम्पनीहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउन तथा विश्वबजारमा बलियो उपस्थिति तथा पूर्वाधारको कमी तथा जटिल नियमन जस्ता चुनौतीहरुको सामना गर्नका लागि एकीकृत प्रयास आवश्यक भएकोमा जोड दिइएको थियो ।

अमेरिकन चेम्बर अफ कमर्शका संस्थापक सञ्जय गोल्छाले सहभागीहरुलाई कार्यक्रममा सहभागिता जनाइ महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए ।

टेक पिक नेपाल, २०२४ को मुख्य प्रायाोजकमा यूएसए एड थियो । साथै अन्य प्रमुख प्रायोजकमा विश्व बैंक, यूरोपियन युनियन, इसीसी, एसियाली विकास बैंक थिए । साथै आइएमइ पे, नियोटेरिक, मर्चिङ एन्ट्स, लक्ष्मी सनराइज बैंक, एनएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पाटर्नर पनि प्रायोजक थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved