तेस्रो गल्याङ महोत्सव हुँदै, कृषि उपजलाई निशुल्क स्टल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2024 | 07:55:59 PM मा प्रकाशित

laxmi  sunrise bank

गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव संचालन हुने भएको छ। यही चैत्र ३० गतेदेखि वैशाख ९ गतेसम्म तल्लो गल्याङ खेल मैदानमा महोत्सव हुने भएको हो ।

महोत्सवमा १ सय ४० वटा स्टल रहने आयोजक संस्थाका अध्यक्ष डोल प्रसाद श्रेष्ठ (ध्रुव) ले जानकारी दिएका छन्। उनका अनुसार महोत्सवमा हस्तकला , कृषि लगायतका स्थानीय उत्पादनलाई निशुल्क स्टल उपलब्ध गराइने छ।२० वटा स्टल स्थानीय  हस्तकला र कृषि उत्पादन बिक्री वितरण गर्ने गल्याङका स्थानीय कृषक र व्यवसायीहरूलाई निशुल्क उपलब्ध गराइने बताइएको छ। गल्याङमा दुधमा आत्मनिर्भर भएकाले महोत्सवमा  दुग्धजन्य परिकारलाई विशेष प्राथमिकता दिइने आयोजकले जानकारी दिएको छ।

महोत्सवमा अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता , गल्याङ डान्स आइडल प्रतियोगिता र खुल्ला रत्यौली प्रतियोगिताहरू संचालन हुने छन् ।  महोत्सवमा तरकारी, फलफूल, माछा , मह  लगायतका कृषि उत्पादनहरू, बिउ बिजन तथा प्राङ्गारिक मलखाद, आधुनिक  कृषि औजार तथा प्रविधी, जडीबुटी तथा औषधी, तयारी पोशाक, जुत्ता चप्पल, सौर्य उर्जा, मोबाइल , दैनिक उपभोग्य सामान , बैंक तथा वित्तीय संस्थाका स्टलहरू रहने छन्।

महोत्सवमा सेतीवेणी शीला, ताक्मेकोट, जगत्रदेवी मन्दिर, आलमदेवी, उत्तरवाहीनी जस्ता स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार र  स्थानीय लोक संस्कृतिको प्रदर्शनीको समेत उद्देश्य राखिएको छ।यसैगरी आयोजकले आम्दानीको केही अंश सामाजिक उत्तरदायित्व अन्तर्गत माझी समुदाय लगायतका लक्षित समुदायको हितमा समेत खर्चिने जनाएको छ। संस्थाले महोत्सवमा प्राप्त आम्दानीले संस्थाको भवन निर्माणका लागि जग्गा खरिदको  लक्ष्य समेत  राखेको छ।

महोत्सवलाई सफल बनाउन २९ वटा उपसमिति गठन गरिएको छ। १ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा १ करोड ५० लाखको कारोबार हुने अनुमान गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved