
भारतीय शेयरबजारको नियामकीय निकाय सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड (सेबी)ले टिभी अन्तर्वार्तामा गएर शेयर किनबेचको सल्लाह दिने 'गेस्ट एक्स्पर्ट्स' हरुलाई कारवाही गरेको छ। सेबीले गत साता १५ जनालाई कारवाही गरेको हो ।
उनीहरुले अवैध तरिकाले नाफा कमाएको भन्दै सेबीले उनीहरुलाई कारवाही गरेको भारतीय संचारमाध्यम लाइभमिन्टले जनाएको छ । समाचार अनुसार सेबीले उनीहरुलाई ७ करोड ४१ लाख भारतीय रुपैयाँको जरिवाना गरेको छ ।
के थियो कसुर ?
सेबीका अनुसार कारवाही गरिएकाहरुले जि न्युज नामको टिभी च्यानलमा गएर शेयरखरिद बिक्रीको लागि सल्लाह दिने गरेका थिए । तर उनीहरुले टिभी कार्यक्रम प्रसारण हुनु अगावै सो सल्लाह 'प्रोफिट मेकर्स' भनिएका समुहलाई पनि दिने गरेका थिए । ति विज्ञले टिभीमा गएर दिएको सल्लाहको कार्यक्रम प्रसारण भएपछि 'प्रोफिट मेकर्स' ले शेयरको मुभमेन्टबाट फाइदा लिएको सेबीले जनाएको छ । सेबीका अनुसार टिभीमा गेस्ट एक्सपर्टको रुपमा सलाल्ह दिने १० जना र 'प्रोफिट मेकर्स' भनिने ५ जना लगानीकर्ताको समुहलाई कारवाही गरिएको हो । सेबीले 'प्रोफिट मेकर्स' भनिएका ५ जनालाई अर्को आदेश नभएसम्मको लागि शेयर किनबेचमा प्रतिबन्ध लगाएको छ। साथै गेस्ट एक्सपार्टहरुलाई पनि अर्को आदेश नभएसम्मको लागि कुनै पनि माध्यमबाट शेयर किनबेचको सल्लाह दिनबाट प्रतिबन्ध लगाएको छ । साथै उनीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शेयर कारोबार गर्न पनि प्रतिबन्ध लगाईएको छ ।
कसरी सुरु भयो अनुसन्धान ?
ति विज्ञहरुले सल्लाह दिएका शेयरको कारोबार अस्वभाविक रुपमा पहिले देखि नै बढेको पाईएपछि सेबीले यस बारे अनुसन्धान गरेको जनाएको छ । सेबीले २०२२ फेब्रुअरी १ देखि २०२२ डिसेम्बर ३१ सम्मको रिभी अन्तर्वार्ताको आधारमा छानबिन गरेको जनाएको छ ।
सेबीका अनुसार अनुसन्धानको क्रममा सामान्य अवस्थामा औसतमा ६० हजार १ सय ४७ कित्ता कारोबार भएको शेयर शेयर उनीहरुको सल्लाहपछि औसतमा ६ लाख ३१ हजार ८ सय कित्ता शेयर कारोबार भएको थियो । यसरी कारोबार बढ्दा उनीहरुले मनग्य नाफा कमाएको र कमाएको नाफा पुर्व निर्धारित सहमति अनुसार 'प्रोफिट मेकर्स' र टिभीमा अन्तर्वार्ता दिने विज्ञहरुबीच बाडिएको सेबीको अनुसन्धानले पत्ता लगाएको छ ।
सेबीले अहिले १२७ पेजको अन्तरिम आदेश मात्र दिएको छ । सेबीले यस विषयमा अन्तिम आदेश नहुँदासम्मको लागि जिन्युजलाई सबै अन्तर्वार्ता र टिभी कार्यक्रमको विवरण सुरक्षित राख्न भनेको छ ।