अर्थमन्त्रीको स्वीकारोक्ति, ‘अर्थतन्त्र दवावमा छ, ऋणको दायित्व बढ्दै गयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 07:05:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधिमा शिथिलता आई मुलुकको अर्थतन्त्र दवावमा रहेको स्वीकार गरेका छन् । आज संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले विश्व आर्थिक परिदृश्यका साथै केही आन्तरिक कारणले गर्दा आर्थिक गतिविधिमा शिथिलता आई मुलुकको अर्थतन्त्र दवावमा रहेको स्वीकार गरेका हुन् । 

उनले चालु आर्थिक वर्षमा उत्पादन, व्यापार र निर्माण क्षेत्रमा सुस्तता आएकोले आर्थिक वृद्धि न्यून हुने देखिएको पनि बताएका छन् । 

‘लक्ष्य अनुरुप राजस्व परिचालन हुन सकेको छैन, सार्वजनिक ऋणको दायित्व बढ्दै गएको छ’ उनले भने, ‘सरकारी खर्चको प्राथामिकीकरण हुन नसक्दा साधन स्रोत छरिने गरी विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृत्ति कायमै छ, साधारण खर्चमा वृद्धि हुँदै गएको छ। आयोजना कार्यान्वयन कमजोर हुँदा पुँजीगत खर्च न्यून हुनुका साथै खर्चको प्रभावकारिता बढ्न सकेको छैन। फलस्वरूप सरकारको वित्त सन्तुलनमा चाप परेको छ।’

न्यून कुल गार्हस्थ बचत, मुद्रास्फीति, उतार चढावयुक्त पुँजी वजार, बढ्दो व्याजदर, कमजोर पुँजी निर्माण, निरन्तर उच्च व्यापार घाटा, वैङ्किङ क्षेत्रमा खराव कर्जाको जोखिम जस्ता चुनौतीहरू अर्थतन्त्रमा कायम रहेको उनको स्वीकारोक्ति छ । 

चुनौतीका बावजुद पनि विदेशी विनिमय सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटक आगमन, बैङ्किङ क्षेत्रको तरलता लगायत अर्थतन्त्रका केही सूचकहरू सुधार हुँदै गएको अर्थमन्त्रीको दाबी छ । 

प्रभावकारी राजस्व परिचालन, परिणाममूखी पुँजीगत खर्च, अनुत्पादक क्षेत्रमा खर्च कटौती एवम् साधारण खर्चमा मितव्ययिता कायम गर्न जरुरी रहेको उनको भनाइ छ । आफूले आगामी बजेटमार्फत निजी क्षेत्रको मनोवल वृद्धि, उद्यमशीलताको विकास र सेवा प्रवाहमा सुधार गर्नेतर्फ जोड दिनुपर्ने आवश्यकता बोध गरेको अर्थमन्त्री डा. महत बताउँछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved