
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
आज बिहान १० बजे बस्ने बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यसूची छ ।
आजको बैठकमा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।
आजकै बैठकमा उपराष्ट्रपति कार्यालयको बजेटबारे पनि छलफल हुने छ ।