काठमाडौँ महानगरले ल्यायो २५ अर्बको बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2023 | 02:51:19 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आज राष्ट्रिय सभागृहमा काठमाडाैँ महानगरका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा चालुतर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट बिनियोजन गरिएको छ । 

कामपाले चालु आवका लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट विनियोजन गरेको थियो । चालु अवाको तुलनामा आगामी आवको बजेट करिब रु १४ करोडले बढी हो । 

आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिता साथ बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा रु एक अर्ब ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको छ ।   

बजेटमा भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनजस्ता विषयले समेटिएका छन् । आगामी आर्थिक वर्षका लागि महानगरलाई सङ्घीय सरकारबाट रु दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ  ।  

कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि रु तीन अर्ब ८० करोड  विनियोजन गरेको छ । महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको छ ।  

वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि रु एक अर्ब ७६ करोड  विनियोजना गरिएको छ । फोहरमैला व्यवस्थापनका लागि रु सात करोड विनियोजन गरिएको छ । 

बजेटमा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाका लागि ५० करोड र ‘रोजगारी र आयवृद्धि महानगरको समृद्धि’ कार्यक्रमका लागि रु १० करोड बिनियोजन गरिएको छ । रोजगारी वृद्धिका लागि बेरोजगार र रोजगारदाताबीच ‘जव लिंक एप’ प्रयोगमा ल्याएने बजेटमा उल्लेख छ ।

बजेटमा उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई–कमर्श पोर्टलमार्फत मेट्रो मार्ट सञ्चालनका लागि रु एक करोड र स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यका लागि आवश्यक बजेट छुट्याइएको छ । 

साथै ‘मेरो रहर, हरित सहर’ कार्यक्रमका लागि रु ५० करोड बजेट बिनियोजन गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत महानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण र वृक्षारोपणसम्बन्धी काम गरिनेछ । महानगरले  महानगर टेलिभिजन स्थापनाका लागि रु ५ करोड छुट्याएको छ । महानगरका मुख्य सडक, चोक एवं गल्लीमा समेत ‘सर्भिलेन्स क्यामरा’ जडान गरी महानगरबासीलाई सुरक्षित परिवेशमा बस्न योग्य शहर बनाउने उद्देश्यले ‘महानगरले देख्न’ योजनालाई गौरवको कार्यक्रममा समावेश गरिएको छ । यसका लागि रु २० करोड बजेट बिनियोजन गरिएको छ ।

महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूलको विषादी परीक्षणका लागि विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि रु एक करोड ५० लाख बजेट बिनियोजन गरिएको छ । 

साथै युवा जनशक्तिलाई ‘श्रम बैंक’ स्वर्णिम योजनामा आबद्ध गराइ सीप तथा क्षमता विकासमार्फत रोजगारीको अवसर सिर्जना गर्न रु १० करोड बजेट बिनियोजन गरिएको छ । साथै कर्मचारीहरुको सु्नौलो अवकाश योजना कार्यान्वयनका लागि रु १० करोड बजेट बिनियोजन गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved