
नेपाल बीमा प्राधिकरणले पुँजी पुर्याउन नसकेका दुई वटा कम्पनीबारे विशेष निर्णय गर्ने भएको छ । तोकिएको समयमा पुँजी पुर्याउन नसकेका नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सबारे प्राधिकरणले विशेष निर्णय गर्न लागेको हो ।
प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले मर्जर प्रक्रियामा नगएका नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको हकमा के गर्ने भन्नेबारे छलफल जारी रहेको र उनीहरुको हकमा विशेष निर्णय हुने बिजपाटीलाई जानकारी दिए । एक साता भित्र नै यी दुई कम्पनीबारे निर्णय गरिसक्ने सिलवालले बताए ।
प्रभु इन्स्योरेन्सले अजोड इन्स्योरेन्ससँग मर्जरको सम्झौता गरेपछि पछि सम्झौता तोडिएको थियो । नेपाल इन्स्योरेन्सले भने कुनै पनि कम्पनीसँग मर्जरको लागि सम्झौता गरेको छैन । मर्जरमा नगएका यी दुई कम्पनीबारे छलफल जारी रहेको अध्यक्ष सिलवालले जानकारी दिएका हुन् ।
पुँजी नपुगेका अन्य कम्पनीलाई भने आवश्यकता अनुसार हकप्रदको अनुमति दिने प्राधिकरणको तयारी छ। प्राधिकरणले मर्जर प्रक्रिया गएर पनि पुँजी नपुगेका कम्पनीलाई हकप्रद मार्फत पुँजी जुटाउने बाटो खोलिदिने भएको हो।
प्राप्त जानकारीअनुसार एलआईसी नेपालको ८८.४५ र एनएलजी इन्स्योरेन्सको ६६ प्रतिशत हकप्रद स्वीकृत भईसकेको छ। त्यस्तै एसियन लाइफले ४२ प्रतिशत, नेपाल इन्स्योरेन्सले ६८ प्रतिशत, नेको इन्स्योरेन्सले २५ प्रतिशत, हिमालयन एभरेष्टले २० प्रतिशत, प्रभु इन्स्योरेन्सले ६६ प्रतिशत, सानिमा रिलायन्सले २५ प्रतिशत सानिमा जनरलले २५ प्रतिशत हकप्रद प्रस्ताव गरेका छन्।
प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले मर्जर प्रक्रियामा गएर पनि पुँजी नपुगेका कम्पनीहरुले माग गरेको खण्डमा आवश्यकता अनुसार हकप्रद निष्काशन गर्न अनुमति दिईने बताए । मर्जरपछि कायम चुक्ता पुँजीको अवस्था हेरेर कति प्रतिशत हकप्रद निष्काशन गर्दा तोकिएको पुँजी पुग्छ सोहि अनुसार हकप्रदको अनुमति दिने तयारीमा प्राधिकरण रहेको उनले बताए। मर्जरपछि कायम पुँजी, र कम्पनीले दिन सक्ने लाभांश हेरेर अपुग पुँजीको लागि कम्पनीले माग गरेको खण्डमा हकप्रद निष्काशनको अनुमति प्रदान गर्ने उनले जानकारी दिए । यो सुविधा मर्जरमा गएका कम्पनीले मात्र पाउने छन् ।
बीमा प्राधिकरणले २०८० असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो।