बुटवल उपमहानगरपालिकामा भूमिको वैज्ञानिक प्रयोग, कृषि क्षेत्रको सबलीकरण र त्यसका लागि चाहिने जनशक्ति तयार पार्नेसम्मका कामको योजना अगाडि सारेको छ । बुटवलमा भूमि बैक स्थापना गर्न, कृषिको उत्पादकत्व बढाउन तथा रोजगारी तथा उद्यमशीलता विकासका लागि ठोस कार्ययोजना निर्माण गर्न उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
उपमहानगरका सेमलार र मोतिपुर समेटिने केही वडा खेतीयोग्य जमिन प्रसस्त रहेका क्षेत्र हुन । यिनै क्षेत्रलाई लक्षित गरेर सहरी कृषि प्रवद्र्धनका कार्यक्रम अगाडि बढाएको उपमहानगरले अहिले भूमि बैंक तथा श्रम बैंक सञ्चालन र कृषि उत्पादकत्व बृद्धि अध्यय्नको तयारी गरेको छ ।
कार्यदलको प्रतिवेदनका आधारमा नीति तथा कार्यक्रममा समावेश गर्ने, बजेटको व्यवस्थापन गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानेगरि तयारी भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।
महामारीका विरुद्ध जुधिरहेका बेलामा सहरी कृषिमा पुनर्जागरण ल्याउनेगरि बुटवलले अर्को नमुना कामको थालनी गरेको हो । यसका लागि बुटवलले भूमि बैंक, श्रम बैंक र कृषिको उत्पादकत्व बढाउने कार्ययोजना तयार पार्न विशेष कार्यदल गठन गरेको छ ।
बुटवलमा करिब दुई हजार एक सय ४४ हेक्टर क्षेत्रफल खेती र कृषिसंग सम्बन्धित कामको प्रयोजन भइरहेको छ । बुटवलमा बजार क्षेत्र, बस्ती क्षेत्र, खेतीयोग्य क्षेत्र, हरियाली जंगल क्षेत्र, नदी उकास क्षेत्र र वगर क्षेत्रका रुपमा रहेको छ ।
बुटवलको हरियाली क्षेत्र मुलुकका कुनै पनि नगरपालिकाको भन्दा धेरै छ । केही वर्षअघि प्राविधिकहरुले देशभरका नगरहरुको अध्यय्नका आधारमा सार्वजनिक गरेको तथ्यांकमा यहाँ झण्डै ५४ प्रतिशत हरियाली क्षेत्र रहेको छ । यहाँ करिब ४० हजार घरधुरी रहेका छन ।
बुटवलले केही समय अगाडि नै सुरु गरेको यसखालको कार्यक्रमलाई अहिले संघीय सरकारले नीति तथा कार्यक्रममा समेत समावेश गरेको छ भने बजेटमै समेट्ने तयारी गरेको छ ।
पछिल्लो समय वैदेशिक रोजगारका लागि युवा शक्ति विदेशिने, अव्यवस्थित बस्तीको विकास भएको, जग्गाको खण्डीकरण बढेपछि अधिकांश उर्वर जमिन बाँझो तथा एकीकृतरुपमा खेती हुन नसकेको, वर्षेनी आयात वृद्धिलगायत कार्य भइरहेकाले उत्पादनमा आएको कमीलाई सुधार्न बुटवलले यसखालको अवधारणा ल्याएको हो ।
जनप्रतिनिधि निर्वाचित भएदेखि नै यहाँ जथाभावी प्लटिङ र जमिन खण्डिकरणको काममा बन्देज लगाइएको छ । बुटवलले सहरी कृषिको प्रवद्र्धन, फसल धितो राखेर ऋण, जग्गा भाडामा लिएर खेती गर्नेलाई प्रोत्साहन अनुदान, कृषि उपकरण तथा बीउविजन प्रदानदेखि कृषि उपजको बजारिकरणसम्मका नमुना काम गर्दै आएको छ ।
त्यस्तै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन अहिले भूमि बैंक, श्रम बैंक तथा कृषि उत्पादकत्व बृद्धि गर्ने अवधारणासहितको कार्यक्रम बनाइएको प्रमुख सुवेदीको भनाइ छ ।
सुझाव संकलन गर्दै कार्यदल:
उपमहानगरपालिकाको हालै बसेको कार्यपालिकाको बैठकले यस्तो कार्यदल गठन गर्नेसम्बन्धी निर्णय गरेको थियो । जसअनुसार उपमहानगरका प्रवक्ता तथा वडा नं.१६ का अध्यक्ष रामप्रसाद रेग्मीको संयोजकत्वमा कार्यदल गठन भएको हो ।
उक्त कार्यदलमा कार्यपालिका सदस्य दधिराम न्यौपाने, कृषि विकास शाखाका प्रमुख सन्तोष जिसी, पशुपंछी विकास शाखाका प्रमुख झविन्द्र बञ्जाडे र वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेल रहेका छन ।
बुटवलले प्रत्येक वडामा बाँझो रहेको जमिनको यकिन तथा वडामा बसोबास गर्ने बेरोजगार युवाको तथ्यांक संकलन गरिरहेको छ । अहिले गठन भएको कार्यदलले सोही आधारमा नयाँ योजना बनाउनका लागि सुझाव संकलन गरिरहेको छ । उपमहानगरका विभिन्न संयन्त्रमार्फत सुझाव संकलन भइरहेको छ ।
भू–उपयोग नीति र युवा लक्षित कार्यक्रम:
बुटवलमा यसअघि नै जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई प्रोत्साहन स्वरुप अनुदानको व्यवस्था गरिएको छ । नगरबासीले घरघरबाट आफ्नै लागि भएपनि कृषि उत्पादनमा केन्द्रित गराउने, जमिन नहुनेले कौसीमै पनि तरकारी उत्पादन गर्न सक्नेगरि भूउपयोगको नीति बनाइएको छ । युवाशक्तिलाई विदेश पलायनबाट राक्ने र विदेशबाट फर्केर आउनेलाई यहीँ उत्पादनमूलक क्षेत्रमा लगाउने लक्ष्यका साथ श्रम बैंकको अवधारणा बनाइएको छ । कोरोना महामारीका कारण मुलुकमा खाद्यसंकट निम्तिन सक्ने खतरा रहेको विज्ञहरुले बताइरहेका बेलामा बुटवलले युवाशक्तिलाई कृषि उत्पादनका काममा जोड्नेगरि श्रम बैंकको अवधारणा बनाएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममै मोडलमा यसखालको अवधारणा बनाइएको छ । बुटवल उपमहानगरपालिका १९ वटै वडामा उत्पादनमूलक काममा लगाउने गरि श्रम बैंकको अवधारणा बनाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।
युवाशक्तिका पाखुरीलाई कृषि उत्पादनमा आकर्षण जगाउने र त्यसमार्फत विस्तारै आत्मनिर्भर बन्दै जाने योजनाका साथ काम थालिएको शर्माको भनाइ छ ।
के हो भूमि बैंक ?
नेपालमा भूमि बैंकको अवधारणा सन् २००५ मा सुरु भएको थियो, जुन विश्व बैंकले थालनी गरेको थियोे र त्यतिवेला नेपालमा अत्यन्तै विवादित थियो ।
डा.पूर्ण नेपाली, राजेश पौडेल र रामहरि तिमल्सिनाले सार्वजनिक बहसका रुपमा भूमि बैंकका बारेमा छलफल सुरु गरेका छन् । कुनै व्यक्ति वा कृषकले आफूले कृषिकर्म गर्न नसकेको अवस्थामा आफ्नो जग्गा भूमि बैंकको जिम्मामा दिने र बैंकले अन्य कृषकलाई जग्गा उपलब्ध गराई कृषिसँगै आर्थिक क्रियाकलापलाई निरन्तरता दिलाउने व्यवस्था नै भूमि बैंक हो ।
यसले गर्दा भूमि बाँझो रहन पाउँदैन । भूमि बैंक भनेको कुनै पनि प्रयोग नभएका, बेवारिसे, खाली वा परित्यक्त भू–सम्पत्तिलाई कुशलतापूर्वक व्यवस्थापन र विकास गर्न सिर्जना गरिएको एक सार्वजनिक अधिकारसम्पन्न संस्था हो ।