कृषिमा आक्रामक गोल्यान नेतृत्वको ‘जनता एग्रो’, पाइपलाइनमा ५० करोडको आईपीओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 04:38:22 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगपति पवन कुमार गोल्यानले कृषिमा आक्रामक लगानी विस्तार गर्ने योजनासहित अन्य उद्योगी व्यवसायीहरुसँगको साझेदारीमा ५ अर्बको पब्लिक कम्पनी खडा गरेका छन् । गोल्यानले आफ्नो नेतृत्वमा देशका प्रतिष्ठित उद्योगी व्यवसायीहरुसँगको सहकार्यमा ‘जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड’ नामक कृषि कम्पनी दर्ता गरेका हुन् ।

यो कम्पनीले ‘एग्रिकल्चर सेक्टर’को बृहत व्यवसायीकरणको लक्ष्य लिएको छ । कृषि, वन तथा प्राकृतिक उत्पादन तथा उपभोगको परिपूर्ति गर्न यसको आधुनिकीकरण, गुणस्तर वृद्धि र प्रभावकारी बजारीकरण यस कम्पनीको मुख्य लक्ष्य रहेको छ । कम्पनीका संस्थापक उद्योगी कमलेश अग्रवालका अनुसार कम्पनीलाई देशकै कृषि अर्थतन्त्रको विकासका लागि नेपालकै सबैभन्दा ठूलो कृषि कम्पनीका रुपमा विकास गरिने लक्ष्य लिइएको छ ।

उद्योगी पवन कुमार गोल्यान नेतृत्वको गोल्यान समूहमार्फत हाल १५० बिघा जमिनमा भइरहेको व्यवसायिक कृषि अब जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडमार्फत सञ्चालन हुनेछ । त्यस्तै, प्रेम बहादुर लामाले चलाइरहेको बनेपा र नवलपूरको आशापूरी अर्गानिक प्रा.ली. पनि अब जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड मातहत नै चल्नेछ । 

कम्पनीको कुल चुक्ता पूँजी ५ अर्ब हुनेछ । यसमध्ये ३ अर्ब रुपैयाँ संस्थापक लगानीकर्ताबाट संकलन गरिनेछ भने १ अर्ब ५० करोड रुपैयाँ गैरआवासीय नेपालीबाट संकलन गरिनेछ । बाँकी रहेको १० प्रतिशत अर्थात् ५० करोड रुपैयाँ सर्वसाधारण नेपाली नागरिकमा आईपीओ जारी गरेर संकलन गरिनेछ ।

‘अहिले सबै प्रोसेसहरु भइरहेका छन्, कम्पनी दर्ता सकिएको छ, अब अर्को आर्थिक वर्ष भित्रमा आईपीओ जारी गरेर पूँजी संरचनाले अन्तिम रुप पाउनेछ’ कमलेश अग्रवालले भने ।

कम्पनीका सञ्चालहरुमा पवन गोल्यान अध्यक्ष छन्  भने उपाध्यक्षमा भोजबहादुर शाह छन् । शाह बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का उपाध्यक्ष हुन् । त्यस्तै, अपरेशन डाइरेक्टरमा प्रेमबहादुर लामा, फाइनान्स डाइरेक्टरमा कमलेश अग्रवाल, रि–सर्च एण्ड डेभलपमेन्ट डाइरेक्टरमा नरबहादुर कार्की रहेका छन् । ९ जनाको सञ्चालक टिममा उपेन्द्र केशरी न्यौपाने, परितोष पौड्याल, केशब बहादुर रायमाझी र टिकाराम पुरी सदस्य रहेका छन् ।

यस्ता छन् कम्पनीका ३ लक्ष्य 

१) नेपालमा कृषि, वन तथा प्राकृतिक उत्पादन र उपभोगको परिपूर्ति गर्न यसको आधुनिकिकरण, गुणस्तर वृद्धि, प्रभावकारी बजारीकरण गर्ने ।

२) कृषि र वन उत्पादनको औद्योगिकरण मार्फत आर्थिक उन्नतीका साथै आत्मनिर्भरता हासील गर्ने ।

३) कम्पनीलाई नेपालको कृषि अर्थतन्त्रको विकासमा टेवा पुयाउने सक्षम साझेदारको रुपमा स्थापित गर्ने ।


ति लक्ष्य हाँसिल गर्न कम्पनीले निम्न अनुसारको ८ रणनीति अघि सारेको छ ।

१) उत्पादक, प्रशोधनकर्ता र विक्रेतासँग सहकार्य गर्दै “खेती देखि विक्रेता " सम्मको एकिकृत आपूर्ती प्रणालीको निमार्ण गर्ने र सो को समन्वयको लागि संस्थागत संरचनाको विकास गर्ने ।

२) कृषि उद्योगमा संलग्न किसानहरुको क्षमता विकासका लागि आफै वा अन्य साझेदार संघ-संस्थाहरु सँग मिलेर कार्यशाला, गोष्टी, सेमिनार तथा भेलाहरुको आयोजना गर्ने र अन्य प्रकारका शैक्षिक कार्यक्रमहरु संचालन गर्ने, प्रतिवेदन प्रकाशन गर्ने ।

३) व्यवसाय साझेदारहरुका विचमा आपसी सहयोग, भाइचाराको सम्बन्ध म बनाउने । समय समयमा साझेदारीको महत्व, उपलब्धी आदि विषयमा आवश्यकताका आधारमा व्यवसायिक सेवा तथा शिपको आदान प्रदानलाई चुस्त र व्यवस्थीत बनाउँदै उत्पादनको गुणस्तर र परिमाणमा सुधार ल्याउन उपभोक्ता, उत्पादक र आपूर्तीकर्ता विच अन्तरक्रिया गर्ने र पृष्टपोषण लिने तथा दिने ।

४) लगानीकर्ताहरुको लगानीको उद्देश्य र लक्ष्य प्राप्तीका लागि नजिकबाट निगरानी गर्दै संस्थाका साझेदारहरुलाई सामाजिक र वातावरणीय सन्तुलन र उपलब्धीका लागि उत्प्रेरित गर्ने ।

५) स्वदेशी तथा विदेशी दाताहरुबाट उपलब्ध हुने दान, दातव्य एवं कोषको उचित रुपमा सदुपयोग गर्ने ।

६) राष्ट्रिय तथा अन्तराष्ट्रिय तहको खाद्य तथा गुणस्तर मापदण्ड हासिल गर्ने ।

७) वातावरण, जलवायु परिवर्तन, पर्यावरणिय संरक्षण, भू-संरक्षण जस्ता विशेष महत्वका विषयहरुलाई कम्पनीका कार्यक्रमहरु मार्फत योगदान गर्ने ।

८ ) लैगिंक समानता, रोजगारीको अवसर श्रृजना, पिछडिएका क्षेत्रहरुलाई लाभ तथा विकास गर्न प्रध्मिकता दिने ।


कम्पनीले निम्न अनुसारको १४ कार्यक्रम संचालन गर्ने लक्ष्य राखेको जनाएको छ । 

१) व्यवसायिक कृषिका माध्यमबाट उत्पादनको उचित मूल्य र बजारको प्रवद्धन गरी जनताको जनजिविकामा सुधार ल्याउने ।

२) व्यवसायिक सोच र पहलका साथ सक्षम र वैज्ञानिक आपूर्ती प्रणालीको विकास गर्ने ।

३) उच्च गुणस्तरीय कृषि तथा वन पैदावर उत्पादनहरु जस्तै : जडिबुटी, एसेन्सीयल तेल, अदुवा, बेसार, टिमुर तथा मह, ओखर, आदिको उत्पादन तथा आपूर्तीको व्यवस्थापन गर्ने ।

४) कृषि तथा वन पैदावर उद्योगहरुका लागि आवश्यक पर्ने कच्चा पदार्थहरुको आपूर्तीको स्थायी र भरपर्दो ढंगले ब्यवस्थापन गर्ने ।

५) नेपालको सातै प्रदेशहरुका कृषि तथा वन पैदावर र गैर वन पैदावर उत्पादनका साथै उच्चमूल्य श्रृंखला भएका उत्पादनको पहिचान गरी सो को गुणस्तरीय प्रशोधन प्याकेजिङ्गको सीप तथा पूर्वाधारको विकास गर्ने ।

६) देशभरी उद्यमीहरुको सन्जाल सृजना गरी उद्योगहरुको स्थापना गर्ने ।

७) प्रत्येक प्रदेशमा कृषि तथा वन पैदावरहरुको उत्पादन संकलन तथा प्रशोधन र ढुवानीका लागि अत्याधुनिक प्रविधिको स्थापना गर्ने ।

८) नेपाली कृषकहरुमा निर्यात प्रवद्धन गर्ने व्यवसायिक कृषिको प्रचलन बसाल्न कृषि शिक्षा र उचित ज्ञान, सीपका लागि तालिम संचालन गर्ने ।

९) कृषि सेवाको आधुनिक प्रविधि तथा प्रयोगशाला, अनुसन्धान प्रकाशन तथा शिक्षाको निमित्त लगानी गर्ने ।

१०) कृषि तथा वन पैदावरहरुको निर्यात गर्ने । 

११) समान उद्देश्य भएका अन्य कम्पनीहरुमा लगानी गर्ने ।

१२) बजारीकरण र स्तरीकरण गर्ने उद्देश्यले विभिन्न तहहरुमा आवद्धता विस्तार गर्ने ।

१३) पर्यावरणीय, प्राकृतिक, कृषि तथा वनजन्य परियोजनाका साथमा पर्यटन प्रवर्धन गर्ने ।

१४) नेपाली उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय गुणस्तर र मापदण्डको तहमा पु-याउने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved