खाली हुँदै कालिमाटीका ५ सय स्टल, नयाँ व्यवसायी रोक्न बिचौलियाको चलखेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2023 | 03:15:27 PM मा प्रकाशित

laxmi  sunrise bank

यही असार मसान्तबाट कालिमाटी फलफूल तथा तरकारी बजारका पाँच सय स्टलहरुको सम्झौताको म्याद सकिन लागेपछि बिचौलियाको चरम चलखेल शुरु भएको छ । दलालहरुको बिगबिगी रहेको कालिमाटी तरकारी बजारभित्र सम्झौता सकिन लागेका स्टलहरुमा सदा झैँ यसपाली पनि राज चलाउने योजनामुताविक उनीहरुले चलखेल बढाएका छन् ।

असार मसान्तमा सम्झौता सकिने व्यवसायीहरुले भित्रभित्रै नयाँ व्यवसायीलाई प्रवेश नदिने रणनीति अख्तियार गरी पुरानै सम्झौता नवीकरण गर्न ठूलो चलखेल सुरु गरिसकेको स्रोतले बताएको छ । यसका लागि बजार व्यवस्थापन समितिका पदाधिकारीसहित कृषि मन्त्रालयका अधिकारीलाई भेट्न अहिले ति व्यवसायीहरुको दौडधूप चलेको छ । 

उनीहरुले एउटा स्टल लिएर त्यसलाई ४ टुक्रा बनाएर ४ जना व्यवसायीलाई भाडामा लगाउने गर्दछन् । झण्डै ५० वटा स्टल यस्ता छन् । यसबारे पनि बजार व्यवस्थापन समिति मौन देखिएको श्रोतको दावी छ ।

बजार विकास तथा सञ्चालन नियमावली २०६५ अनुसार कालिमाटी तरकारी बजार व्यवस्थापन समितिले १५ वर्षे सम्झौता गराएर व्यवसायीलाई स्टल भाडामा लगाएको थियो । कालिमाटी फलफूल तथा तरकारी बजारमा ५१० वटा स्टल छन् । यी मध्ये ४५० वटा होलसेलका स्टल छन् भने ६० वटा खुद्रा पसलका स्टल छन् । अहिले त्यसमध्यको ५ सय वटा स्टलको सम्झौता अनुसारको १५ वर्षे अवधि असार मसान्तबाट सकिँदैछ ।

‘२०८० असार मसान्तबाट व्यवसायीसँग भएको स्टल सम्झौता सकिने हो, असार मसान्तमा सम्झौता सकिने स्टल संख्या ५ सय जति छ’ कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘असार मसान्तपछि पूरानै व्यवसायीलाई सम्झौता थप गर्ने की, नयाँ व्यवसायीलाई प्रवेश गराउने भन्ने निर्णय भइसकेको छैन, अहिले छलफल चाहिँ भइरहेका छन् ।’

कालिमाटी तरकारी बजारमा ४० वर्ग फिटदेखि १२० वर्ग फिटसम्मका स्टल छन् । व्यक्तिगत रुपमा स्टल भाडामा लिएर व्यवसाय गर्नेहरुले ४० वर्ग फिटको स्टल पाउँदै आएका छन् भने कृषि सहकारीले १२० वर्ग फिटको स्टल पाउँदै आएका छन् । सहकारीबाट उपभोग भइरहेका स्टल संख्या १४/१५ वटा मात्रै छन् । ‘नियमावलीले सम्झौताको अवधि सकिएपछि के गर्ने भन्ने विषय बोलेको रहेनछ, अब समितिले नै आवश्यक निर्णय गर्छ, यसका लागि छलफल र परामर्श भइरहेको छ’ समितिका सूचना अधिकारी श्रेष्ठले थपे ।

‘एउटा स्टल १०/१२ हजारमा किन्ने, त्यसलाई ४ वटा बनाएर १० हजारका दरले ठेक्कामा दिने विकृति छ, यो विकृति हटाउन बजार व्यवस्थापन समितिले आँट गर्नै सकेन’, एक जना व्यवसायीले भने, ‘४०/५० वटा यस्ता स्टल छन्, यसरी स्टल टुक्रयाएर भाडामा लगाउनेले आफू चाहिँ व्यवसाय गर्दैनन्, बसी बसी ४० हजार कमाउँछन् ।’

कालिमाटी तरकारी बजारमा एउटा स्टलको मासिक भाडा ९ हजारदेखि १४ हजार रुपैयाँसम्म छ । वर्गफिट अनुसार फरक-फरक भाडादर कायम गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved