भारतले चामलको निकासी रोकेपछि भाउ बढ्ने र अभाव हुने नेपालको निष्कर्ष !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2023 | 06:46:22 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले चामलको निकासीमा रोक लगाएपछि नेपालमा चामलको अभाव हुने र मूल्य बढ्ने निष्कर्ष निकालिएको छ । भारत सरकारले उत्पादन कम हुने देखिएपछि साउन ४ बाट चामल निर्यातमा रोक लगाएको छ । यसपछि झस्किएको नेपालले आज आपूर्ति व्यवस्था नै प्रभावित हुन सक्ने निष्कर्ष निकालेको हो । 

मुख्यसचिव बैकुण्ठ अर्यालको अध्यक्षतामा आज आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले भारतले चामलको निकासी रोकेपछि नेपालमा खाद्यान्नको भाउ बढ्ने र चामलको अभावसम्म हुनसक्ने निष्कर्ष निकालेको हो । 

नेपालमा वार्षिक ७० लाख मेट्रिकटन चामल खपत हुने गरेकोमा १५ लाख मेट्रिकटन आयात गर्नुपर्ने बाध्यता छ । आर्थिक वर्ष २०७९÷०८० मा १५ अर्बको चामल आयात भएकाले भारतले निकासीमा बन्देज लगाउँदा त्यसको असर पर्ने निष्कर्ष निकाल्दै केन्द्रीय अनुगमन समितिले कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई खाद्यान्न अभाव नहुने वातावरण बनाउने जिम्मा दिएको छ । 

गोदामहरुमा खाद्यान्नको मौज्दात बढाउने र सरकारले सञ्चालन गरेका खाद्य गोदामहरु सकेसम्म भरेरै राख्ने निर्णय भएको कृषि मन्त्रालय स्रोत बताउँछ । यता उद्योग मन्त्रालय स्रोतले पनि कृषि र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले संयुक्त रुपमा अनुगमन गर्ने निर्णय अनुगमन समितिले गरेको पुष्टि गरेको छ । प्रदेश र स्थानीय तहहरुसमेत परिचालन गर्नुपर्ने भएकाले अनुगनमको समन्वयको काममा संघीय मामिला मन्त्रालय पनि साथमै रहने व्यवस्था गरिएको छ । 

भारतमा यसपाली पानी कम पर्ने र उत्पादन पनि कम हुने प्रक्षेपण यसअघि नै भइसकेको छ । नेपालमा पनि पानी कम पर्ने अनुमान गरिएको छ । जसका कारण उत्पादन प्रभावित हुने देखिएको छ । उत्पादन प्रभावित हुने र अर्कातिर आयात पनि रोकिएको अवस्थामा आपूर्ति प्रक्रिया नै बिथोलिन सक्ने भन्दै आपूर्ति व्यवस्था प्रभावित नहुने गरी काम गर्न प्रधानमन्त्री कार्यालयले मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved