धुलिखेल–सिन्धुली सडक खण्ड दुई लेनमा विस्तार हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 09:05:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सडक विभागले वीपी राजमार्ग अन्तर्गतको धुलिखेल–खुर्कोट सडक खण्डलाई दुई लेनमा विस्तार गर्न बजेट माग गरेको छ । विभागले आगामी वर्षको बजेटबाट नै यो खण्ड विस्तारका लागि रकम व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

स्थानीय समुदायले सडक विस्तार गर्न आग्रह गरेको र अर्थ मन्त्रालयमा यो प्रस्ताव लगेको विभागले जनाएको छ । प्रस्तावमा अर्थले सकारात्मक प्रतिक्रिया दिएको छ । 

‘सडक साँघुरो भएकाले दुर्घटना बढेका छन्, पूर्वतिर र पूर्वी पहाडी जिल्लामा आरोरदोहोर गर्ने सवारीको निकै चाप पनि छ,’ विभागका एक अधिकारीले भने, ‘पहिलो चरणमा खुर्कोटसम्मको सडक फराकिलो बनाउने प्रस्ताव गरेका छौँ ।’

यो खण्डमा ठूला सवारी चलाउन रामेछाप क्षेत्रका स्थानीयले लामो समयदेखि माग गर्दै आएका छन् । तर, सरकारले ३२ सिटसम्मको यात्रुबाहक र १० टनसम्मको मालबाहक सवारी मात्रै चलाउन सकिने गरी अनुमति दिएको छ ।

निकै चर्चित र सुन्दर वीपी राजमार्ग जापान सरकारले बनाइदिएको हो । तर एक लेनमा मात्र बनाइएको हुँदा ठूला सवारीलाई यो सडक प्रयोग गर्दा जोखिम हुने भन्दै सरकारले रोक लगाएको छ । 

खुर्कोट–सिन्धुलीमाडी खण्ड भने विस्तार गर्न अप्ठेरो हुने विभागको भनाई छ । त्यसैले त्यो खण्डमा सुरुङमार्ग बनाउन अध्ययन सुरु भएको छ । हाल विभागले सुरुङमार्गको प्रारम्भिक अध्ययन गरिरहेको छ । 

यो खण्डमा पनि दुई लेनको सुरुङमार्ग बनाउने योजना छ । बर्दिबासबाट सिन्धुलीमाडीसम्म भने दुई लेनस्तरकै सडक छ । वीपी राजमार्गको पुनर्निर्माणका लागि जापानले १ अर्ब ८ करोड रुपैयाँ अनुदान सहयोग गर्ने सम्झौता भइसकेको छ ।

१६० किलोमिटर लम्बाईको यो राजमार्गका झण्डै २ दर्जन स्थानमा पुनर्निर्माण आवश्यक देखिएको छ । कज–वेहरुमा पुल बनाउने गरी सम्झौता पनि भएको छ । अब वीपी राजमार्गमा बन्ने पुल दुई लेनकै हुनेछन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved