सरकारले गत आर्थिक वर्ष २०७५/०७६ बाट सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको पहिलो चरण सकिएको छ । विभिन्न जिल्लामा सम्बन्धित स्थानीय तहमार्फत हुने काममा निकै सक्रियता देखियो । निर्वाचित स्थानीय तहका प्रमुखहरुले कहिकतै बाहेक चासो दिएर काम गरे ।
यसको उदाहरण हो, रामेछापको गोकुलगङ्गा गाउँपालिका । उक्त गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि असार पहिलो सातातिर २८ लाख बजेट पुग्यो । आर्थिक वर्षको अन्त्यतिर बजेट आएपछि गाउपालिका अध्यक्ष खडग सुनुवार केही समय अतालिए । तर केही समयअघि नै रोजगार संयोजक मार्फत आवश्यक कामको पहिचान गराईसकेका उनले कच्ची सडकलाई निर्वाध सवारी सञ्चालन योग्य बनाउने योजना बनाए र सोही अनुसार काम गरे ।
रामेछापका दुई नगरपालिका र छ गाउँपालिकामध्ये सबैले आश गरेका जनप्रतिनिधि हुन् खडग सुनुवार । नागरिकका समस्या समाधानमा सधैँ खटिरहने र विकासका काममा ज्यान दिएर लाग्ने भनेर उनलाई भन्ने गरिन्छ ।
यसवर्ष पनि गाउँपालिका अध्यक्ष सुनुवारले आफूलाई अब्बल प्रमाणित गरेका छन् । सामान्यतय, मिडियासामु खासै नबोल्ने उनलाई प्रचारको भोक छैन । ‘खड्गेले काम गरेर देखाउँछ, बोल्दै हिड्दैन’ रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा स्थानीय तहको निर्वाचन पछि उनले बोलेका यी शब्द अझै पनि गुञ्जायमान छन् ।
गाउँपालिकाका ६ वटा वडामा सबै वडालाई ४/४ लाख रुपैयाँ दिएर वडाध्यक्षको रोहबरमा काम गर्न लगाए । त्यसको निरन्तर अनुगमन गरे । सुनुवारका अनुसार गाउँपालिका भरीमा ५ सय मिटर सडक सोलिङ भएको छ । पर्यटकीय वडामा भने पदमार्ग पनि बनेका छन् ।
सबै वडामा नमूना नाम भएको उनको दाबी छ । वडा नम्बर ६ फर्पूको सडक सामाजिक सञ्जालमा राखेपछि उनलाई स्याबासी र बधाईको ओइरो लाग्यो ।
अर्को गज्जबको कुरा के हो भने, काम गर्ने श्रमीकमा विभेद भएन । मिस्त्री र लेवर दुवै काम गर्नेले बराबरी ज्याला पाए, दिनको ७ सय । एक जनाले कम्तीमा १६ दिन काम गरे । महिला र पुरुष दुवै कामदारलाई समान ज्याला दिइयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको निरन्तरता र औचित्यमाथि नै प्रश्न उठिरहेका बेला गोकुलगंगा जस्ता केही स्थानीय तहले यसको सदुपयोग गरेर आवश्यकता हो भन्न बाध्य बनाएका छन् । अध्यक्ष सुनुवार आगामी वर्ष चाडै बजेट आओस् र अध्ययन गरेर काम गर्न पाईयोस् भन्छन् ।