राजधानीबासि र पोखरेलीलाई लोडसेडिङमुक्त बनाएर जनतामाझ लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले प्राधिकरणलाई अबको डेढ बर्षभित्र नाफामा लैजाने बताएका छन।
बार्षिक १२ अर्ब रुपैयाँ नोक्सानमा रहेको प्राधिकरणलाई विद्युत चुहावट र आन्तरिक भ्रष्टाचार नियन्त्रण गरी यहि बर्ष वा अर्को आर्थिक बर्ष भित्र नाफा आर्जन गर्ने संस्था बनाउने उदेश्य रहेको घिसिङले बताएका छन।
उनका अनुसार प्राधिकरणको वार्षिक घाटा १२ अर्ब रुपैयाँ र यसको सञ्चित घाटा ३७ अर्ब रुपैयाँ रहेको छ। प्राधिकरणलाई यस्तो नाजुक अवस्थाबाट नाफामुखी संस्था बनाउन घिसिङले ४ योजना अगाडी सारेका छन। पोखरामा जारी नेपाल साहित्य महोत्सवको अन्तिम दिन सोमबार ‘चाँदीको घेरा’ शीर्षक सत्रमा बोल्दै घिसिङले यस्तो बताएका हुन।
उनका अघि सारेका ४ योजनामा बिजुली चुहावट नियन्त्रण गर्ने, संस्थाभित्रको अनावश्यक खर्च घटाउने, व्यवस्थापकीय सुधार गर्ने, बिक्री बढाएर आम्दानी बढाउने लगायत रहेका छन।
बिद्युत चुहावट रोक्नका लागि विभिन्न उद्योगसँग मिलेमतो गरी मिटर रिडिङमा ठगी गर्ने कर्मचारीविरुद्ध धमाधम कारबाहीसमेत भइरहेको उनले बताएका छन। त्यस्तै संस्थाभित्रको अनावश्यक खर्च घटाउने प्रयास पनि संगसंगै अघि बढाएको उनले कार्यक्रममा बताए।
उनका अनुसार अहिले भारतबाट औसत ३ सय मेगावाट बिजुली आयात भइरहेको छ। बढी बिजुली खपत हुने सिजनमा यो साढे ३ सय मेगावाटसम्म पुग्छ। तर, चार महिनापछि अर्को हिउँदसम्मका लागि भारतबाट बिजुली आयात गर्न नपर्ने घिसिङले बताए। पछिल्लो समयको उत्पादन र पाइपलाइनमा रहेका आयोजना हेर्दा मे महिना देखि भारतबाट बिजुली आयात गर्न नपर्ने उनको बिश्वास छ।