सिजनमै महँगियो निर्माण सामग्रीको भाउ, ६ हजार आयोजना प्रभावित

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 09, 2020 | 03:18:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वाधार निर्माण हुने मुख्य सिजनमा नै निर्माण सामग्रीको मूल्य आकाशिएको छ । मंसिरदेखि जेष्ठ सम्मको अवधिलाई निर्माण व्यवसायीले मुख्य सिजन मान्ने गरेका छन् । तर, यही सिजनमा निर्माण सामग्रीको भाउ चर्को हुँदा निर्माण व्यवसायी र उपभोक्ताले दबाब महशुस गर्न थालेका छन् ।

कोरोना भाइरसको संक्रमण बढेसँगै लागू भएको लकडाउनका कारण सुस्ताएको निर्माण क्षेत्रले तिहारपछि गति लिने अपेक्षा थियो । तर, बजारमा निर्माण सामग्रीहरु नै महँगो भईदिएपछि अपेक्षाकृत उपलब्धि हासिल गर्न समस्या सिर्जना भएको निर्माण व्यवसायीहरुको गुनासो छ । 

दबाबमा निर्माण व्यवसायी

कोरोनाका कारण थिलिथिलो बनेको भौतिक पूर्वाधार विकासको कामले गति समात्नै आँटेको समयमा निर्माण सामग्रीको भाउ बढेपछि निर्माण व्यवसायीहरुले विज्ञप्ति नै सार्वजनिक गरेका छन् । कोरोनाका कारण रोकिएका आयोजनाहरु निर्माणको काम सामान्य गतिमा अघि बढेका छन् । एकातिर सरकारका अधिकारीहरु निर्माण समयमा नै सक्न निर्देशन दिईरहेका छन् भने अर्कोतिर निर्माण सामग्रीको मूल्य बढ्दा निर्माण व्यवसायीहरुले दोहोरो दबाब खेप्नुपरेको निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालको भनाई छ ।

गिट्टी, बालुवा, फलामे डण्डीको मूल्य बढेसँगै ढुवानीको भाडा पनि बढेका कारण आफूहरु दोहोरो मारमा परेको महासंघका अध्यक्ष रवी सिंह बताउँछन् । सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइलाको भाउ पनि अन्तराष्ट्रिय बजारमा बढिरहेको छ । कोइलाको भाउ बढ्दाको असर नेपाली सिमेन्ट उद्योगमा पर्न सक्ने लख काटिएको छ । सिमेन्टको पनि भाउ बढ्यो भने आफूहरुले काम गर्न नसक्ने निर्माण व्यवसायीहरुले चेतावनी नै दिएका छन् ।

किन बढ्यो निर्माण सामग्रीको भाउ ?

सरकारले क्रसर उद्योगलाई नियमन गर्ने भन्दै अवैध रुपमा खुलेका यस्ता उद्योगहरु धमाधम बन्द गराउन थालेको छ । गृह मन्त्रालयको निर्देशनमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले अवैध क्रसर उद्योगहरु बन्द गराउँदै आएका छन् । यसको असर निर्माण क्षेत्रमा देखिएको व्यवसायीहरुको अनुमान छ । 

अवैध रुपमा गिट्टी, बालुवा उत्पादन गर्दै आएका उद्योगहरु बन्द गराउने र त्यस्ता उद्योगबाट उत्पादित बस्तुहरु बिक्रि तिरणमा रोक लगाउने सरकारी अभियानले बजारमा गिट्टी, बालुवाको अभाव सिर्जना भएको र फलस्वरुप मूल्य बढेको महासंघका अध्यक्ष सिंहको भनाई छ । यसको अर्थ अवैध क्रसरहरु चल्न पाउनुपर्छ भन्ने आफूहरुको माग नरहेको उनको भनाई छ । 

गत महिनासम्म एक टिपरको २० हजार पर्ने गिट्टी, वालुवा अहिले प्रति टिप ३० हजारसम्म पर्ने गरेको छ । फलामे डण्डीको मूल्य अन्तराष्ट्रिय बजारमा नै बढिरहेकाले सोही अनुसार समायोजन हुँदा नेपालमा पनि बढिरहेको छ । डन्डीको मूल्य एक किलोमा नै १५ देखि २० रुपैयाँसम्म बढेको छ । 

६ हजार आयोजना प्रभावित

निर्माण व्यवसायी महासंघको तथ्यांक अनुसार हाल साना ठूला गरेर ६ हजार आयोजनाहरु निर्माण भईरहेका छन् । गत सोमबार महासंघले १३ औँ निर्माण दिवसको अवसरमा नै ६ हजार आयोजनाहरु कोरोनाका कारण प्रभावित भएकाले सबै आयोजनाको म्याद कम्तीमा १ वर्ष थप गर्नुपर्ने माग गरेको थियो ।

गत फागुन १४ गते २ हजार ७७० वटा रुग्ण आयोजनाहरुको म्याद एक वर्षका लागि थपिएको थियो । तर, चैत्र ११ गतेबाटै लकडाउन हुँदा काम गर्न नसकिएकाले ती आयोजनाको म्याद पुनः एक वर्ष थप गर्नुपर्ने महासंघको माग छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved