कसरी बनाउने भूकम्पले नढल्ने बलियो घर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2021 | 11:38:49 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

भूकम्पपछि आवास तथा अन्य सरकारी संरचना निर्माणमा मापदण्ड बनेको छ । मापदण्ड बनेपनि भूकम्पको त्रास कम हुँदै गएपछि मानिसहरु आफूखुशी आवासीय घर बनाउन थाले । जसले गर्दा अहिले बनेका आवासीय संरचनाहरु बलिया छन् भन्नेमा ढुक्क हुन सक्ने अवस्था छैन ।

जग बलियो बनाउने तरिका

घरको जगदेखि माथिल्लो तल्लाको निर्माण नसकिँदासम्म अत्यन्त सुक्ष्म तरिकाले ध्यान दिने हो भने साना नीजि आवासीय घरमा भूकम्पको जोखिम अत्यन्त कम हुने रियलस्टेट व्यवसायीहरु बताउँछन् । 

‘जग बलियो भए पो घर बलियो हुन्छ’ भन्ने उखान प्रचलित नै छ । बुढापाकहरुले भन्ने यो उखानले भने जस्तै जग बलियो भए मात्रै घर बलियो हुन्छ । बलियो जगत यार पार्न घर बनाउन तयार पारिएको जग्गा (घडेरी) मा पुरेको कमजोर माटो निकाल्नु पर्छ । त्यसपछि कम्तीमा ५ फिट गहिरो खाडल खनेर जग हाल्नुपर्ने निर्माण व्यवसायी रामकुमार पाण्डे बताउँछन् ।

भूकम्पपछि भवन निर्माण मापदण्ड परिवर्तन गरेर सरकारले डबल टाइबिम गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ । सिंगल टाइबिमका घरको नक्सा पास नै नहुने व्यवस्था छ । जमिनमुनि जगमा हात्तीपाइले ढलान गरेर त्यसैसँग टाँसेर बनाईने बिमलाई लोअर टाइबिम भनिन्छ । यसले घरका सबै हात्तिपाइलेलाई बाध्ने काम गर्छ । 

अपर टाइबिमलाई डिपिसी भन्ने गरिन्छ । चारैतिरका पिलरलाई बाँध्नक दोस्रो टाइबिम बनाइन्छ । लोअर र अपर टाइबिमको बीचमा रहेको खाली भागमा भित्र र बाहिरबाट बलियो गरी वाल लगाउनुपर्छ । खाली भागमा वाल लगाउँदा घर बलियो हुने व्यवसायीको विश्वास छ ।

जमिनमुनि हात्तीपाइले र डबल टाइबिम गरेपछि घरको जग बलियोसँग तयार हुन्छ । यो भने जमिन मुनिको काम हो । 

घरको पिलर १२ बाई १२ इन्च 

भूकम्पपछि सरकारले बनाएको भवन निर्माण मापदण्डमा न्यूनतम १२ बाई १२ इन्चको पिलर उठानैपर्ने व्यवस्था गरिएको छ । स्ट्रक्चर डिजाइन पनि अनिवार्य गरिएको छ । स्ट्रक्चर डिजाइन नभए नक्सा पास नै नहुने बाध्यतात्मक व्यवस्था गरिएको छ । भूकम्पअघि यो प्रावधान थिएन ।

भूकम्पपछि नै सरकारले नयाँ नेशनल बिल्डिन कोड (एनबीसी) पनि निकालेको छ । एनबीसी २०५ कोडभित्र रहेर घर बनाउँदा स्ट्रक्चर डिजाइन गर्न नपर्ने व्यवस्था भएपनि उक्त कोडमा घर बनाउँदा कति पिलर बिममा कति डण्डी, कति सिमेन्ट, कति गिट्टी, कति बालुवा राख्ने भनेर तोकेको छ । तर, त्यो कोडभन्दा बाहिर गएर फरक डिजाइनमा घर बनाउँदा स्ट्रक्चर डिजाइन अनिवार्य गरिएको छ ।

घर बनाउँदा बिमभन्दा पिलर बलियो हुने गरी बनाउन पर्छ । किन यसो गर्नुपर्छ भन्दा, पिलरले सिङ्गै घरको भार थेगिरहेको छ । पिलर कमजोर हुनु भनेको घर जुनबेला पनि ढल्न सक्छ भन्नु हो । त्यसैले बिमभन्दा पिलरलाई महत्व दिईनुपर्ने आवासीय घर जग्गाका व्यवसायीहरु बताउँछन् । 

५ इन्चको ढलान अनिवार्य

आवासिय घर बनाउँदा सामान्यतया ४ इन्चको ढलान गरिन्थ्यो । तर भूकम्पपछि बनेको मापदण्डमा भने ५ इन्चको ढलान अनिवार्य गरिएको छ । मोटो ढलानले आगलागी वा जमेको पानी चुहिने खतराबाट मुक्ति पाईन्छ । माटो ढलानमा पानी सोच्ने क्षमता पनि बढी हुने र भाइब्रेन्ट पनि कम आउने जानकारहरुको भनाई छ ।

ढलानमा डण्डी बाँध्ने तरिकामा पनि भूकम्पपछि व्यापाक फेरबदल आएको छ । एउटा लेयर जाली बिच्छ्याएर डण्डी बाँधी ढलान गरिँदै आईएकोमा अहिले दुईवटा लेयरमा जाली विच्छ्याएपछि मात्रै डण्डी बाँध्ने गरिन्छ । यसले घरलाई भूकम्पको जोखिमबाट सुरक्षित बनाउने इन्जिनियरहरुको सल्लाहपछि यो नियम लागू गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved