खुलामञ्च खाली गर्दै काठमाडौँ महानगर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 10:31:25 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले खुलामञ्च खुला गर्ने पहल थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको भन्दै काठमाडौँ महानगरपालिकाले ती संरचना निर्माणका लागि थुपारेका  निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो ।

‘मेयरज्यु (काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य) को निर्देशन अनुसार अहिले दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफल गरिरहेका छौँ,’ काठमाठौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरुले महानगरपालिकासँग गरेको आग्रह अनुसार नै ठाउँ उपलब्ध गराएको हो । कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो । दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भईसकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । अब हामी छिट्टै खुलामञ्च खुला गर्छौ ।’ 

पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विरोध प्रदर्शन, र्याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति ध्यानाकर्षण भएकोले महानगरपालिकाले जतिसक्दो चाँडो खुलामञ्च खुला गर्ने ज्ञवालीको भनाई छ ।

‘विभिन्न राजनीतिक दलले सडकमै मञ्च बनाएर ठूला–ठुला सभा गर्दा पछिल्लो समय महानगरपालिका क्षेत्र भित्रको  ट्राफिक आवागमनसँगै व्यापार–व्यवसाय पनि अस्तव्यस्त बन्ने गरेको छ,’ ज्ञवालीले भने, ‘राष्ट्रिय महत्वका संरचना निर्माण हुने र ती संरचनाका लागि प्रयोग हुने निर्माण सामग्री जथाभावी सडकमा राख्दा सडकको स्वरुप नै विग्रिने भएकाले महानगरपालिकाले असल नियतले ठाउँ उपलब्ध गराएको हो । अब ती संरचना निर्माण सम्पन्न भएको अवस्थामा खुलामञ्च खुला गर्नुको अर्को विकल्प छैन ।’ 

ज्ञवालीले प्राचीन कालदेखि काठमाडौँको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै छाड्ने बताएका छन् । भ्यू टावर निर्माणका लागि  खुलामञ्चभित्र अस्थायी रुपमा सरेको पुरानो बसपार्कलाई पनि उचित व्यवस्थापन गर्ने ज्ञवालीको भनाई छ ।

‘भ्यु टावर निर्माणसँगै खुलामञ्चमा सरेको बसपार्क अहिले अस्थायी रुपमा सञ्चालनमा छ,’ ज्ञवाली भन्छन्, ‘अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठुला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्न दिन सवारी आवागमन अस्तव्यस्त नहोस् भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदन अनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएको भन्दै थप छलफल गरी जतिसक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताएका छन् । 

‘ठेकेदार कम्पनीले पछिल्लो पटक दिएको प्रतिवेदन अनुसार ९० प्रतिशत बढी काम सम्पन्न भएको भनेका छन्,’ शाहले भने, ‘हामीले पनि ठेकेदारलाई जति सक्दो छिटो काम सम्पन्न गर्न भनेका छौँ । म अझै पनि उनीहरुसँग तुरुन्तै छलफल गरी जति सक्दो छिटो काम सम्पन्न गरी खुलामञ्च खुला गर्न निर्देशन दिन्छु ।’ 

बाँकी निर्माण कार्यका लागि निर्माण सामग्री निर्माणाधिन अस्पताल भित्रै राखेर पनि गर्न सकिने रहेछ भने त्यसका लागि पनि पहल गर्ने शाहको भनाई छ । 

वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले पनि खुलामञ्चमा थुपारेका निर्माण सामग्री हटाउन सकारात्मक रहेको बताएका छन् । 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि वीर अस्पताल र दरवार हाइस्कुल प्रशासनसँग निरन्तर छलफलमा रहेको भन्दै जति सक्दो छिटो खुला गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved