बटुवाको प्यास मेटाउन काठमाडौँका ५ स्थानमा जरुंहिति, पाँच रुपैयाँमा एक लिटर पानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2021 | 04:48:06 PM मा प्रकाशित

laxmi  sunrise bank

खानेपानी मन्त्री मणिचन्द थापाले ‘प्लाष्टिक रहित सहरको परिकल्पनामा सहभागी बनौँ’ भन्ने नारा लेखिएको बोर्डसँगै बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा वाटर एटीएमको उद्घाटन गरेका छन् । सुरुमा रत्नपार्क परिसरमा शंखधर उद्यानको प्रवेशद्वार र त्यसपछि स्वयम्भूमा वाटर एटीएमको उद्घाटनपछि बालाजु पुगेका मन्त्री थापाले ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का हालेका थिए । 

सिक्का हालेपछि ‘वाटर भेन्डिङ मेसिन’ बाट काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डको लोगो भएको दुई वटा कपमा चार सय मिलिलिटर पानी भरियो । मन्त्री थापाले एक कप पानी सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरलाई दिए र एक कप आफूले पिए । पानी पिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री थापाले आधुनिक प्रविधिसँग जोड्दै काठमाडौँ महानगपालिकासँगको सहकार्यमा पहिलो पटक ‘वाटर भेन्डिङ मेसिन’को उद्घाटन भएको बताए ।

‘आजै हामीले रत्नपार्क क्षेत्र, स्वयम्भू र बालाजु गरी तीन ठाउँमा वाटर भेन्डिङ मेसिनको उद्घाटन गरेका छौँ,’ मन्त्री थापाले भने, ‘पहिलो चरणमा उपत्यकाका १५ स्थानमा यो सञ्चालन गर्ने तयारी छ । विस्तारै मुलुकभरीकै सहरमा यो व्यवस्था लागु गर्नेछौँ ।’ 

मन्त्री थापासँगै रहेका राज्यमन्त्री मानन्धरले पनि आफ्नो निर्वाचन क्षेत्रसमेत पर्ने बालाजु उद्यानकै प्रवेशद्वारमा आधुनिक प्रविधिको वाटर एटीएम उद्घाटन हुँदा खुशी लागेको बताए । ‘एक लिटर नै पानी किनेर खानुपर्ने बाध्यतालाई यो प्रविधिले अन्त्य गरेको छ । यो प्रविधिको विकाससँगै अब पानी कहाँ पिउने होला भन्ने कुराको अन्त्य हुनेछ’ राज्यमन्त्री मानन्धरले भने । 

काठमाडौँ महानगरपालिकाले पनि काठमाडौँ मानगरवासी र बटुवाहरुलाई सहज तरिकाले प्यास मेटाउन फरक–फरक सार्वजनिक स्थलहरुमा सुपथ मूल्यमा स्वच्छ सफा पिउने पानी उपलब्ध गराउने उदेश्यले यसको थालनी गरेको जानकारी दिएको छ ।

‘प्लाष्टिक र वोतलको पानी प्रयोगमा कमी ल्याई वातावरणीय सुधार कार्यमा टेवा पुर्याउने उदेश्यले यसको थालनी गरेका हौँ,’ काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपध्यक्ष सरोज बस्नेतले भने, ‘काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डसँगको सहकार्यमा महानगरपालिका क्षेत्र भित्रका पाँच स्थानमा वाटर एटीएम रहने छन् । त्यसका लागि महानगरपालिकाले स्थान उपलब्ध गराएको छ भने व्यवस्थापन बोर्डले नै गर्नेछ ।’ 

कुनै समय परम्परागत रुपमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जरुंहिति रहेको र ती धारामा बटुवाहरुले पानीको प्यास मेटाउने गरेको इतिहाससँग जोडेर महानगरले स्थापना गरेका वाटर एटीएमलाई जरुंहिति नामकरण गरिएको छ । 

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बार्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले करीब २ करोडको लगानीमा उपत्यकाका १५ स्थानमा यस्तो मेसिन राख्ने तयारी स्वरुप पहिलो चरणमा तीन स्थानको उद्घाटन भएको बताए । प्रत्येक वुथमा करीब १५ लाख लगानी रहेको छ ।

वाटर भेन्डिङ मेसिन कसरी प्रयोग गर्ने ? 

१) पाँच वा १० को नोटलाई वाटर भेन्डिङ मेसिनसँगै रहेको पैसा साट्ने मेसिनबाट रु १ को सिक्कामा साट्ने । 

२) साटेको रु १ को सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउने र २०० मिलिलिटर कागजको कप लिने । 

३) कपलाई लगेर कप वा बोतल थाप्ने धाराको तल राख्ने ।

४) अनि रु १ को सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा धारा र सिक्का हाल्ने ठाउँको अंक मिलाई छिराउने । 

५) २०० मिलिलिटर शुद्ध पिउने पानी कपा वा बोतलमा झर्ने छ ।  

६) त्यसरी प्रयोग गरेको कपलाई फोहोर फाल्ने भाँडामा फाल्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved