आइएमई समूहले किन गर्दैछ केबलकारमा आक्रामक लगानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 08:41:39 AM मा प्रकाशित

laxmi  sunrise bank

केबलकार भन्ने वित्तिक्कै आजभन्दा ६ वर्ष अघिसम्म मनकामनाको तस्बिर र नाम मस्तिष्कमा आउँथ्यो । तर, जब २०७३ सालबाट काठमाडौँको चन्द्रागिरीमा केबलकार सञ्चालनमा आयो, तब केबलकार चढ्नकै लागि चितवनको कुरिनटार (मनकामना केबलकारको तल्लो स्टेशन) पुग्नुपर्ने बाध्यता हट्यो । त्यसो त मनकामना केबलकार मनकामना मन्दिर दर्शनका लागि जाने तीर्थयात्रीको सेवाका लागि बनेको भए पनि त्यो विस्तारै व्यवसायिक हुँदै थियो, यता चन्द्रागिरी केबलकार भने पूर्ण रुपमा पर्यटन व्यवसाय थियो ।

२०५५ सालमा बनेको मनकामना केबलकार देशकै पहिलो केबलकार थियो । त्यसको ठिक १८ वर्षपछि चन्द्रागिरि केबलकार बन्यो । मनकामनादेखि चन्द्रागिरीसम्म आइपुग्न झण्डै २ दशक लागे पनि चन्द्रागिरी चलेपछि भने केबलकारको बहार नै चल्यो । 

सुदूरपूर्वको पाथीभरादेखि सुदूरपश्चिमको खप्तडसम्म केबलकारको बहार आउँदैछ । सुदूरपश्चिमका सांसदहरुले खप्तडमा केबलकार बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालसँग अनुरोध गरेका छन् भने, पाथीभरामा केबलकार बन्ने पक्का भइसकेको छ । 

आइएमई समूह आक्रामक

२०७३ सालमा चन्द्रागिरीमा केबलकार सञ्चालनमा ल्याएको आइएमई समूह केबलकार व्यवसायमा आक्रामक लगानी गरिरहेको छ । आइएमई समूहको नेतृत्व उनै चन्द्र ढकालले गरिरहेका छन् । ढकालको आइएमई ग्रुपले यस वर्ष मात्रै २ वटा केबलकार सञ्चालनमा ल्याईसकेको छ । 

नवलपुरमा गैँडाकोटदेखि मौलाकाली मन्दिरसम्म पुग्ने मौलाकाली केबलकार र बुटवलदेखि पाल्पाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केबलकार यसैवर्ष मात्रै सञ्चालनमा आएका हुन् । यी दुबै केबलकार आइएमई समूहले बनाएको हो । आइएमई समूहले कास्कीको सिकलेस, ताप्लेजुङको पाथीभरा, कैलालीको लम्किचुहामा केबुलकार बनाउँदै छ । 

कहाँ कहाँ छन् केबलकार ?

चन्द्रागिरी, बुटवल र मौलकालीबाहेक अन्य दुई  स्थानमा केबलकार चलिरहेका छन् । पोखराको फेवातालदेखि सराङकोट डाँडासम्म पुग्ने अन्नपूर्ण केबलकार २०७८ फागुनबाटै सञ्चालनमा आएको हो । त्यस्तै, २०७५ कार्तिकबाट दोलखाको कालिञ्चोकमा कालिञ्चोक केबलकार सञ्चालन भइरहेको छ । तनहुँको डुम्रेदेखि बन्दीपुर जोड्ने बन्दीपुर केबलकार पनि चाँडै सञ्चालनमा आउँदैछ । अहिले रोप वेमा भार परीक्षणको काम भइरहेको छ । बुटवलदेखि पाल्पाको नुवाकोटगढी जोड्ने सिद्धार्थ केबलकार पनि धमाधम बनिरहेको छ । 

चम्पादेवी केवलकारको पनि यसै वर्षबाट निर्माण सुरु गरिने भनिएको छ । चाल्नाखेलदेखि चम्पादेवी मन्दिरसम्म पुग्ने यो केबलकार काठमाडौँ उपत्यकाको दोस्रो केबलकार हुनेछ । 

कास्कीको विरेठाँटीबाट मुस्ताङको मुक्तिनाथ जोड्ने ८६ किलोमिटर लामो महत्वाकांक्षी केबलकार परियोजनाको ईआईएको काम भइरहेको छ । यो विश्वकै लामो केबुलकार हुने दावी गरिएको छ । मुक्तिनाथ दर्शन प्रालिले यो परियोजना बनाउन लागेको हो । यो केबलकारमा ६ ठाउँमा स्टेशन र ७ सय ७७ वटा टावर रहने भनिएको छ । 

चन्द्रागिरी मोडलमा देशैभर काम गर्न सकिन्छः चन्द्र ढकाल 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका केबलकारका लागि पायोनियर मानिने आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल पहाडका टाकुरा र हिल स्टेशनमा पर्यटकहरुको रुची बढेको देखिएको बताउँछन् । 

आन्तरिक र बाह्य पर्यटकहरुले हिल स्टेशन मन पराउने गरेको उनको अनुभव छ । हिल स्टेसनमा लगानी गर्ने निजी क्षेत्रका व्यवसायीहरुलाई प्रोत्साहन गर्न त्यस्ता क्षेत्रहरुमा सडक, बिजुली, खानेपानी लगायतका आधारभूत पूर्वाधार बनाएर सरकारले सहयोग गर्ने हो भने देशैभरीका टाकुराहरुमा चन्द्रागिरी मोडलको पर्यटकका लागि प्याकेजसहितको गन्तव्य विकास गर्न सकिने उनको भनाइ छ । 

उनका अनुसार आइएमई समूहले ७ वटै प्रदेशमा पहिलो चरणमा ‘एक प्रदेश–एक केबलकार’ अवधारणमा काम गरिरहेको छ । अध्यक्ष ढकालले जेठ २५ गते विहिबार लुम्बिनी केबलकारको उद्घाटन गर्दै लुम्बिनी केवलकारबाट धार्मिक यात्रा सुरु गरेर मौलाकाली, मुक्तिनाथ, मनकामना, चन्द्रागिरी, कालिञ्चोक हुँदै पाथिभरासम्म पुग्न सकिने ‘केबलकार धार्मिक पर्यटन सर्किट’ निर्माण अभियानको घोषणा पनि गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved