स्टार्टअप उद्यमले बिना धितो सहुलियत कर्जा पाउने सम्भावना टर्यो, छुट्याइएको २५ करोड अब के हुन्छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 27, 2023 | 08:05:34 AM मा प्रकाशित

laxmi  sunrise bank

अधिकतम् २५ लाख रुपैयाँसम्म बिना धितो सहुलियतपूर्ण कर्जा पाउने भनिएको स्टार्टअप उद्यम कर्जा कार्यक्रम चालु आर्थिक वर्षमा लागू नहुने पक्का भएको छ । 

उद्योग विभागले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ अनुसार कर्जा लिन इच्छुक स्टार्टअप उद्यामीलाई परियोजना प्रस्ताव पेस गर्न चैत १६ गते सूचना प्रकाशित गरेको थियो । तर, त्यसपछिका प्रक्रिया लामो भइदिँदा विभागले चालु आर्थिक वर्ष २०७९/०८० (असार मसान्त)भित्रै स्टार्टअपलाई कर्जा दिन नसक्ने भएको हो ।

आर्थिक वर्ष सकिन २० दिन मात्रै बाँकी रहेकाले यो २० दिनमा अब बाँकी प्रक्रिया टुङ्गो लागेर छनोट भएका स्टार्टअप उद्यमले कर्जा पाउने सम्भावना नरहेको विभागका महानिर्देशक बाबुराम गौतमले स्वीकार गरेका छन् । उनले कार्यविधि बनेपछि विभागमार्फत कार्यान्वयन गर्ने भनेर यसको जिम्मा विभागलाई दिनै ढिला गरिएको र विभागले जिम्मेवारी पाएपछि नियमित काम गर्दा पनि चालु आर्थिक वर्षभित्रै सकिने अवस्था नरहेको बताए ।

‘सुरुमा २१३ वटा प्रारम्भिक छनोटबाटै अयोग्य भयो तर उनीहरुले दाबी विरोध हाले, वैशाखसम्म त स्क्रिनिङकै काम भयो’, महानिर्देशक गौतमले भने, ‘२ सय जति छन् अब, तिनको प्रिजेन्टेशन हेरेर मूल्याङ्कन गर्ने काम बाँकी छ ।’

चालु आर्थिक वर्षमा बिनाधितो ३ प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जाका लागि अर्थ मन्त्रालयले २५ करोड रुपैयाँ छुट्याएको छ । यो पैसा उद्योग मन्त्रालयको खातामा छ । एउटा स्टार्टअप उद्यमले अधिकतम् २५ लाख रुपैयाँ कर्जा पाउने स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ मा उल्लेख छ । तर, अब प्रक्रिया नै बाँकी रहेकाले यसै आर्थिक वर्षमा स्टार्टअपले कर्जा पाउने सम्भावना टरेको छ । यसो हुँदा बजेट ‘फ्रिज’ हुनेछ ।

‘विभागको खातामा आइसकेको पैसा होइन, मन्त्रालयको खातामा हो’, महानिर्देशक गौतमले भने, ‘असारभित्र प्रक्रिया नसकिने भएपछि अब अर्को आर्थिक वर्षमा ट्रान्सफर हुने व्यवस्था गर्छौँ, आगामी आर्थिक वर्षका लागि पनि १ अर्बको स्टार्टअप कोष बनाउने भनेर बजेटमा आएको छ, त्यसकारण यो आर्थिक वर्षमा इम्प्लिमेन्ट नहुँदैमा अब कहिल्यै हुँदैन भन्ने होइन, अर्को आर्थिक वर्षको सुरुवाततिरै छनोटमा परेका स्टार्टअपले कर्जा पाउने अवस्था हुन सक्छ ।’

यसअघि प्रथम चरणको मूल्याङ्कन प्रक्रियाबाट विभागले दोस्रो चरणको मूल्याङ्कनका लागि १८६ वटा उद्योगहरुलाई छनोट गरेको थियो । यो ठिक भएन भन्ने आएपछि विभागले फेरि सूचना निकालेको छ । विभागले चैत १६ गते कर्जा लिन इच्छुक स्टार्टअप उद्यमीलाई परियोजना प्रस्ताव पेस गर्न निकालेको २१ दिने सूचनामा ४०५ वटा स्टार्ट अप उद्यमीले परियोजना प्रस्ताव पेस गरेका थिए ।

विभागले अब दोस्रो चरणको मूल्याङ्कनका लागि छनोट भएका स्टार्टअपको प्रिजेन्टेशनसहित अन्तिम चरणको मूल्याङ्कन गरेर कर्जा पाउन योग्य स्टार्टअप छनोट गरी राष्ट्र बैंकमा लेखेर पठाउने छ । राष्ट्र बैंकले तोकेको बैंकबाट त्यस्ता स्टार्टअपले ३ प्रतिशत ब्याजदरमा अधिकतम् २५ लाख रुपैयाँ बिना धितो सहुलियतपूर्ण कर्जा पाउनेछन् । यसका लागि अब आगामी आर्थिक वर्ष २०८०/०८१ सम्म पर्खिनुपर्ने भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved