
ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम रोकिएको छ । डिजाइनमै गल्ती देखिएपछि फरलाइओभर निर्माणको काम रोकिएको हो ।
फरलाइओभरको फाउन्डेसन (बेसमेन्ट) निर्माणका क्रममा डिजाइनमा गल्ती देखिएको हो । बेसमेन्ट बनाउने ठाउँमा त्यहाँको माटोको प्रकृति अनुसार डिजाइन नमिलेपछि काम रोक्नु परेको हो ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठका अनुसार फाउन्डेसनमा प्राविधिक गल्ती भएको पाइएको छ । अहिले बेसमेन्टको समस्या के हो र कसरी समाधान गर्ने भन्ने विषयमा प्राविधिकहरु जाँच गर्ने काम गरिरहेका छन् ।
फाउन्डेसनको मात्रै काम रोकिएको र, अन्य काम भने जारी रहेको बताइएको छ । अब फाउन्डेसनका लागि नयाँ डिजाइन बनाउनुपर्ने जस्तो देखिएको छ । फाउन्डेसन निर्माणका लागि ठेकेदार कम्पनीले कामदारमार्फत खाल्डो खनेर माटो निकाल्ने काम गरिरहेका बेला डिजाइनमा त्रुटी पाइएको हो ।
उक्त फ्लाइओभर निर्माणको ठेक्का एम/एस आशिष–समानान्तर जेभीले १७ करोड ६८ लाख ८८ हजार ८ सय ८ रुपैयाँमा पाएको हो । २ वर्षमा निर्माण सक्ने गरी गत फागुनबाट काम सुरु भएको थियो ।