एकै दिन २ जहाजमा खराबी देखिएको बुद्ध एयरमाथि छानबिन हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2021 | 02:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार बुद्ध एयरका २ जहाजमा एकैपटक जसो समस्या देखिएको छ । समस्या देखिएका दुवै जहाज एटीआर–७२ हुन् ।

सोमबार बिहान काठमाडौँबाट विराटनगर उडेको ‘९ एन–एएनआई’ कलसाइनको एटीआर–७२ जहाज ल्याण्डिङ इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो । काठमाडौँमा पनि सहज नभई ‘फोर्स’ ल्याण्ड गर्नुपर्यो । उक्त जहाजमा चालक दलका ४ सदस्यसहित ७७ यात्रु थिए ।

आजै काठमाडौँबाट पोखरा उडेको एटीआर–७२ ‘९ एन–एजेओ’ कलसाइनको जहाज ककपिटमा समस्या देखिएपछि काठमाडौँ फिर्ता भयो । त्रिभुवन विमानस्थलमा जाँच गरेपछि उक्त जहाजलाई पोखरा पठाइयो । 

के भन्छ बुद्ध एयर ?

बुद्ध एयरले बिराटनगरबाट काठमाडौँ फर्किएको जहाजमा भएको इन्धन कम गरे जोखिम कम गर्न केहीबेर आकाशमै होल्ड गरिएको जनाएको छ । काठमाडौँ एयरपोर्टमा आकस्मिक अवतरणको तयारी स्वरुप जहाजको इन्धन घटाउन केहीबेर जहाजलाई आकाशमै होल्ड गराइएको बुद्धले बताएको छ । 

‘सुरक्षा निर्देशिकाअनुसार जहाजमा रहेको इन्धन कम गर्न केहीबेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पूरा गरी सुरक्षितसाथ अवतरण गराइएको छ’ बुद्धले भनेको छ । 

‘काठमाडौंको आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्यान्डिङ गियर जाँच गर्दा सही अवस्थामा रहेको जानकारी प्राप्त गरे,’ बुद्धले विज्ञप्तिमा भनेको छ, ‘अन्तराष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको निर्देशिकाअनुसार काठमाडौँ विमानस्थलमा सुरक्षित साथ जहाजलाई नर्मल अतवरण गराइयो । हामी पुनः सुरक्षित हवाई यात्राको प्रतिवद्धता व्यक्त गर्छौँ ।’

‘छानबिन गर्छौँ’

त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलका फ्लाइट अप्रेशन डिपार्ट प्रमुखसमेत रहेका प्रवक्ता रिञ्जी शेर्पाले बुद्ध एयरको विमानमा भएको प्राविधिक समस्याबारे छानबिन हुने बताएका छन् । 

‘बुद्धको जहाज ल्याण्डिङ गियर नखुलेको भन्दै बिराटनगरबाट काठमाडौँ फर्केको हो’ उनले भने, ‘यसो हुनुमा के के कारण हुन सक्छन् भनेर हामी अध्ययन गर्छौँ, कमजोरी कसको हो भनेर पनि स्ट्रिक्ली छानबिन गर्छौँ, दोषी देखिए कारबाही पनि गर्छौँ ।’ 

बुद्ध एयरले पनि यस विषयमा आन्तरिक छानविन गर्ने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved