चराको कारण करोडौं गुमाउँछन् नेपालका जहाज कम्पनी, बाधक बन्यो सरकारको पुरानो सोच

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 01, 2023 | 12:22:17 PM मा प्रकाशित

laxmi  sunrise bank

२०८० भदौ १० गते आइतबार नेपालगञ्जबाट काठमाडौँ आएको श्री एयरको जहाजमा चरा ठोक्किएपछि केहीबेर काठमाडौँ एयरपोर्टको रन वे नै बन्द भयो । गत माघमा पोखरामा बुद्ध एयरको जहाजमा चरा ठोक्किएको भिडियो भाइरल नै बन्यो । सन् १९९६ को अक्टुबरमा त्रिभुवन विमानस्थलमा अवतरण गर्दै गरेको थाई एयरवेजको एयरबस–३०० जहाजमा चरा ठोक्किएर दुर्घटना भयो । पछि धावनमार्गमा ६ वटा चील मृत भेटिएको थियो। 

सन् २००० मा नेपाल एयरलाइन्सको बोइङ–७५७ र सन् २०१० को सेप्टेम्बरमा बंगलादेशको डीसी–१० जहाज पनि चरा ठोक्किएरै दुर्घटनामा परे। सन् २०१२ को सेप्टेम्बरमा लुक्ला उड्ने क्रममा सीता एयरको जहाजमा चरा ठोक्किँदा ठूलो दुर्घटना भयो । २०१४ मा जेट एयरवेजको बोइङ–७३७ जहाज पनि चरा ठोक्किएरै दुर्घटनामा पर्यो।

हरेक हप्ताजसो जहाजमा चरा ठोक्किएका घटना आइरहँदा पनि हवाई क्षेत्रको मुख्य नियामक नागरिक उड्डयन प्राधिकरण (क्यान) आफ्नो नीति र योजनालाई बदल्न सकेको छैन। क्यानको रिपोर्ट अनुसार पनि हरेक वर्ष जहाजमा दशौँ पटक चरा ठोक्किएका छन्। क्यानको सेफ्टी रिपोर्ट अनुसार सन् २०२१ मा जहाजसँग सम्बन्धित ४५३ वटा घटना भएकोमा ७३ घटना चरा ठोक्किएर भएका छन् भने १९ वटा घटना जंगली जनावर ठोक्किएर भएका छन् ।

यस्तो घटना इन–रुट (जहाज उडिरहेको बेला) मा कम र टेक अफ र ल्याण्डिङका बेला बढी भएको तथ्यांकले देखाएको छ। सन् २०२१ मा चरा ठोक्किएर भएका ७३ घटनामध्ये टेक अफका बेला २५ पटक र ल्याण्डिङका बेला २० पटक चरा ठोक्किएको क्यान सेफ्टी २०२२ को प्रतिवेदनमा छ। एप्रोचका बेला २२, इनरुटमा ३ र टेकअफ गरेर उचाई लिने क्रममा ३ पटक चरा ठोक्किएका छन् । यसमा उल्लू ३ पटक, सारस १ पटक, क्रेन १ पटक, चील ९ पटक, गिद्ध ६ पटक, सुगा २ पटक र अरु साना चरा ६ पटक ठोक्किएका छन् । प्रजाति थाहा नभएका चराहरु ४५ पटक ठोक्किएका छन् ।

यसरी चरा ठोक्किँदा २ पटक जहाजको ‘नोज कोन’ ड्यामेज भएको छ भने एक पटक दायाँ ब्लेड र एक पटक ‘लिडिङ एज’ ड्यामेज भएको छ । एक पटक जहाजको पूरै संरचनामै क्षति पुगेको छ ।  सन् २०२२ मा क्यानले चरा ठोक्किएर हुने घटना २०२१ को तुलनामा १० प्रतिशत घटाउने दाबी गरिएको थियो। अहिले २०२२ को सेफ्टी रिपोर्टलाई अन्तिम रुप दिने काम भइरहेको र केही दिनमै रिपोर्ट सार्वजनिक गरिने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजसँग चरा ठोक्किएका घटना पटकपटक देखिने गरेको छ । काठमाडौँ विमानस्थलमा मात्रै नभई पोखरा, नेपालगञ्ज र जनकपुरसहित देशैभरका विमानस्थलमा जहाजसँग चरा र जंगली जनावर ठोक्किने घटना भइरहेको छ।

एक पटक चरा ठोक्किँदा लाखौँ खर्च हुन्छः वायु सेवा प्रदायक

वायु सेवा प्रदायकका अनुसार एक पटक चरा ठोक्किएर एउटा ब्लेड मात्रै ड्यामेज भयो भने २५ देखि ३० हजार डलर खर्च हुन्छ । हिमालय एयरका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार जहाजमा चरा ठोक्किँदा एउटा सानो उपकरणमा क्षति हुँदा पनि त्यसको मूल्य हजारौँ डलर पर्ने भएकाले यो समस्याले विमान कम्पनीहरुको खर्च बढ्दो छ । ‘चरा संसारका अरु देशमा पनि आउँछन्, शून्य नै हुन्छ भन्ने त हुँदैन’ उनले भने, ‘तर नेपालमा हरेक हप्ताजसो चरा ठोक्किने घटना भइरहन्छन्, यसले वायुसेवा कम्पनीहरुलाई करोडौँको नोक्सान भइरहेको छ ।’

बुद्ध एयरका सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी पनि चरा ठोक्किँदा सानो औजार वा एउटा मात्रै ब्लेडमा क्षति हुँदा पनि ३० लाख माथि खर्च हुने बताउँछन् । उनले पनि चरा आउने समस्या विश्वका अरु विमानस्थलमा पनि हुने तर, नेपालमा भने आधुनिक उपकरणहरु नराख्दा र अन्य आन्तरिक विमानस्थलमा घाँस कटानमै विवाद हुँदा जनावर र चरा ठोक्किने घटना बढी भइरहेको हुन सक्ने बताएका छन् ।

सरकारको गुलेली नीति 

युरोपियन युनियन 'इयु' को कालो सूची कायमै रहेको नेपालको हवाइ उड्डयन क्षेत्रको सुरक्षामा अझै पनि 'गुलेली नीति' मा अड्किँदा विमान कम्पनीहरुले वन्यजन्तु र चराकै कारण अनाहकमा वर्षेनी करोडौँ क्षति बेहोरिरहेका छन् ।

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चरा तथा जंगली जनावरहरु विमानस्थल क्षेत्रमा आउन नदिन पोर्टेबल इक्वीपमेन्टहरु पायरोटेक्निक वा पेस्तोल राख्नुपर्ने, स्थिर औजारहरुमा चरा तथा जनावर डराउने उपकरणहरु र साइरन राख्नुपर्ने भने पनि नेपालको हवाई सुरक्षामा 'अझै गुलेली नीति' नै प्रयोग भइरहेको छ । 

आधुनिक प्रविधि र यन्त्र उपकरणको प्रयोग बढाउँदै विमानस्थल क्षेत्र वरपर गर्नुपर्ने सुधारलाई वेवास्ता गर्दै अझै परम्परागत मानिने गुलेली नीतिलाई नै अङ्गिकार गर्नुले हवाई सुरक्षा थप चुनौतीपूर्ण देखिएको छ । हवाई नीति २०७७ मा  हवाई उड्डयन सुरक्षा र हवाई सुरक्षास्तरलाई वृद्धि गरी अन्तराष्ट्रिय मापदण्डको बनाइने उल्लेख गरे पनि गुलेली नीतिमै भर पर्दा सुरक्षा चुनौती घट्न सकेको छैन । 

चरा बढ्नुको एउटा कारण विमानस्थलको वातावरण 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले विमानस्थल आसपास जलाशय, ताल र नदीहरु हुनुहुँदैन भन्छ। फोहोर व्यवस्थापन पनि गर्नुहुँदैन भन्छ। आईकाओको गाइडलाइन अनुसार विमानस्थलको चारैतिर ३ किलोमिटरसम्म मासु र मासुजन्य उत्पादनको बिक्री वितरण गर्न पनि पाइँदैन ।

तर, काठमाडौँ एयरपोर्टको पछाडीपट्टि गुह्यश्वरी मन्दिर नजिकै ढलमिश्रित खोला छ, त्यहाँ नजिकै फोहोर जलाउने ठाउँ छ । एयरपोर्टको आडैमा रहेका सिनामंगलदेखि तीनकुने, कोटेश्वर, पेप्सीकोला हुँदै काँडाघारीसम्म मासु काट्ने र सेकुवा पोल्ने काम हुन्छ।

 नयाँ बनेको पोखरा अन्तर्र्राष्ट्रिय विमानस्थल नजिकै त झन ठूलो ‘ल्याण्डफिल साइड’ नै छ । त्यहाँ पटकपटक जहाजमा गिद्ध ठोक्किएका भिडियोहरु नै आउने गरेका छन् । चरा तथा मांशाहारी जीवजन्तु आकर्षण हुने गतिविधि गर्न नहुने मापदण्ड भए पनि नेपालमा भने उडान सुरक्षामै चुनौती हुने खालका गतिविधि भइरहेका छन् । 

आईकाओले चरा तथा जंगली जनावरहरु विमानस्थल क्षेत्रमा आउन नदिन पोर्टेबल इक्वीपमेन्टहरु पायरोटेक्निक वा पेस्तोल राख्नुपर्ने भन्छ । साथै, स्थिर औजारहरुमा चरा तथा जनावर डराउने उपकरणहरु र साइरन राख्नुपर्ने पनि भन्छ । तर, नेपालमा गुलेली बोकेर शिकारी खटाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved