सुन तस्करीपछि विमानस्थलमा कडाई: निगरानीमा एयरलाइन्स, थप कागजात माग्दै भन्सार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2023 | 04:15:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन तस्करी प्रकरण बाहिर आएपछि काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एयरलाइन्स कम्पनीहरुमाथि निगरानी बढेको छ। अन्तराष्ट्रिय गन्तव्यमा उडान गर्ने वायुसेवा प्रदायक कम्पनी मात्रै नभई नेपालभित्र आन्तरिक उडान गर्ने एयरलाइन्स कम्पनीहरुसमेत  निगरानीमा परेका हुन्। 

तस्करहरुले गाडी तथा मोटरसाइकलका स्पेयर पार्टसहरुमा लुकाएर सुन ल्याउने गरेको तथ्य सार्वजनिक भएपछि एयरलाइन्स कम्पनीहरु पनि निगरानीमा परेका हुन् । अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले एयरलाइन्सका पार्ट्सहरु आयात गर्दा जुन देशबाट ल्याएको हो, त्यो देशको भन्सार क्लियरेन्स सर्टिफिकेट माग गर्न थालेको बताईएको छ । यसकारण ३ दिनदेखि कुनै पनि एयरलाइन्स कम्पनीका स्पेयर पार्ट्सहरु भन्सारबाट छुटेका छैनन् ।

जुन देशबाट सामान मगाएको हो, त्यो देशबाट भन्सार क्लियरेन्स सर्टिफिकेट ल्याउन किन समस्या पर्यो भन्ने बिजपाटीको प्रश्नमा यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले एयरलाइन्सका सामानहरु एकैपटक ठूलो परिमाणमा आउने र धेरै एयरलाइन्सका समान एकैपटक आउने हुँदा सम्बन्धित देशबाट एक एक एयरलाइन्सका लागि भन्सार क्लियरेन्स सर्टिफिकेट नै जारी नहुने बताए । 

‘२०÷२५ डलर पर्ने सामान पनि हुन्छन्, एकैपटक सामान आउने हुँदा यतीको यो, बुद्धको यो भनेर यहाँ आएपछि छुट्याएर लिने हो’ उनले भने, ‘यसरी दुःख दिनुभन्दा सिस्टम बनाए भइहाल्यो नि । चेकजाँच चुस्त दुरुस्त राखेर सिस्टम बलियो बनाउनुको सट्टा यसरी कहिले के, कहिले के कागज माग्ने कुराले हैरानी मात्रै हुन्छ ।’

उनले ‘पहेँलो पहेँलो थियो, सुन हो की के हो ?, कालो कालो थियो, त्यसमा अलिकति पहेँलो पनि थियो, सुनै हो की के हो ?’ भन्ने खालको चेकजाँच प्रणाली सुधार हुनुपर्ने बताए ।

‘सिस्टम राम्रो र बलियो बनाए भइहाल्छ नि, यसरी दुःख र झन्झट किन दिनु ?’ उनले भने, ‘दुइ तीन दिनदेखि भन्सारबाट कुनै पनि एयरलाइन्सका पार्ट्सहरु छोडिएको छैन, त्यहीँ थन्क्याएर राखिएको छ ।’

बुद्ध एयरका सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी पनि एयरलाइन्स कम्पनीहरुमाथि निगरानी राख्ने नाममा पार्ट्सहरु आयात गर्दा हैरानी दिन थालिएको बताउँछन् । 

‘पहिला यताबाट एलसी खोलेको कागजात भए हुन्थ्यो, अहिले जुन देशबाट ल्याएको हो त्यो देशको भन्सार क्लियरेन्स सर्टिफिकेट खाज्न थालिएको छ, भन्सारमा कुरा गर्दा सुन तस्करी भएपछि शंका लागेर यसो गर्नुपरेको भन्ने उत्तर आउँछ’ जोशीले भने, ‘लफडै लफडा छ, के गर्ने ?’

उनका अनुसार वायुसेवा सञ्चालक संघले अहिले यसबारे अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ ।

के भन्छ भन्सार ?

भन्सार विभागले पनि सुन तस्करीको घटना पछि एयरलाइन्स मात्रै नभई सबै खालका पाटपूर्जाहरु आयात गर्दा सम्बन्धि देशको सरकारी कार्यालय वा निकायबाट प्रमाणित भएको कागजात खोजिएको जनाएको छ । विदेशबाट आएको सामान यहाँ लिने बेलामा जुन देशबाट आएको भनिन्छ, त्यो देशबाटै आएको प्रमाणित गराउन यो प्रावधान लागू गरिएको भन्सार विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले जानकारी दिए । 

‘जुनसकै सामान आउँदा पनि कुन देशबाट आएको हो भन्ने इन्ट्री प्वाइन्ट त चाहिन्छ, चाहे त्यो एयरलाइन्सका होस्, चाहे त्यो कुनै फर्मले ल्याएको होस्, कुनै सामान अन्तराष्ट्रिय रुपमा पैठारी हुँदैछ भने तपाई हामीले न्यूरोडमा गएर सामान किनेर झोलामा हालेर ल्याए जस्तो नहोस्’, सूचना अधिकारी खड्काले भने, ‘त्यो देशको भन्सारलाई पनि थाहा हुनुपर्यो, त्यो देशको कार्गो बोक्नेलाई पनि थाहा हुनुपर्यो, त्यो देशको डेलिभरी गर्नेलाई पनि थाहा हुनुपर्यो । एयरलाइन्सका सामानको पहिचान पनि असजिलो हुन्छ । न यहीँ नै कम्प्युटरमा बिलिङ पो भएको हो की भन्ने पनि पर्न सक्छ, यस्ता कुनै शंका नहोस् भन्नका लाथि सम्बन्धित देशको सरकारी कार्यालयको प्रमाणिकरण खोजेका हौँ ।’

उनले आयात हुने सामान कुन देशबाट आयात भएको हो, त्यो देशको भन्सार बिन्दुमा घोषणा गरे अनुसार छ कि छैन भन्ने यकिन हुन पनि अब भन्सार क्लियरेन्स सर्टिफिकेट नभएका सामान नछोड्न सबै भन्सार कार्यालयलाई परिपत्र गरिएको पनि जानकारी दिए ।

‘त्यहाँको कस्टम प्वाइन्टमा यो वस्तु म नेपालमा पठाउँदैछु, अथवा नेपालमा लैजाँदैछु, यो वस्तु यति केजीको छ, यसको नाम यो हो, यसको एचएस कोड यो हो, यो वस्तु यो चिजबाट बनेको हो, यसलाई यसरी प्याक गरेर पठाइएको छ भन्ने घोषणा भएको हुनुपर्यो’ खड्काले भने, ‘प्याकिङमा यसको नेट वेट यति हो, ग्रस वेट यति हो भनेर घोषणा गरेको कुरो त्यहाँको सरकारी निकायबाट प्रमाणित भएको हुनुपर्यो । यो अर्थमा हामीले भन्सार कार्यालयहरुलाई परिपत्र गरेका हौँ ।’

उनले प्रणाली नै ठिक छैन भन्दै नेपालको भन्सार प्रणाली पटक पटक बद्नाम हुने गरेको भन्दै यसलाई रोक्न विभागले यो कदम चालेको पनि बताए । 

‘नेपालको भन्सार प्रणाली जति बद्नाम हुँदैछ, हामीले सहजीकरणका नाममा, ठिकै छ भन्ने नाममा अथवा ठूलाबडाले गर्दे, छोड्दे भन्ने हिसाबले काम गर्दै जाँदा बद्नाम हुँदै, लूज हुँदै गएको न हो’ उनले भने, ‘त्यो सुन आँखाले देखेर छोडेको त होइन, लुकाएर ल्याएको हुनाले थाहा नपाउँदा छुट्यो, त्यसैले अफ्ट्यारो परेको हो । हाम्रा कर्मचारी साथीहरुले पनि विभागबाटै केही परिपत्र हुनुपर्यो भनेपछि सुधार गर्ने उदेश्यले अहिले यो पछिल्लो नियम ल्याइएको हो । यसमा अफ्ट्यारो हुन्छ जस्तो लाग्दैन ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved