पोखरा र भैरहवा एयरपोर्ट चलाउने जिम्मा निजी क्षेत्रलाई !

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 07, 2023 | 02:29:28 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी अघि बढाएको छ । मन्त्रालयले आफूले चलाउन नसक्ने देखिएपछि यी दुई अन्तराष्ट्रिय विमानस्थल पब्लिक प्राइभेट पार्टनरशीप (पीपीपी) मोडलमा सञ्चालनको तयारी गरिरहेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नै पुष्टि गरेका छन् ।

आइतबार विराटनगरमा मन्त्री किराँतीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल पीपीपी मोडलमा चलाउने गरी मन्त्रिपरिषदबाटै निर्णय गराउने बताए । यसका लागि नागरिक उड्डयन प्राधिकरणबाट निर्णय गराएर आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने मन्त्री किराँतीको उद्घोष छ । यसको सम्पूर्ण तयारी सकिसकेको उनको भनाई छ ।

उनले यी दुई विमानस्थलको व्यवसायिक सम्भावनाबारे विगतमा अध्ययन नभएको पनि संकेत गरे । व्यवसायिक अध्ययन बिना र व्यवसायिक ग्यारेन्टी हुने गरी कुटनीतिक पहल नै नगरी हाकिम र पूर्व मन्त्रीहरुले यी दुई एयरपोर्ट बनाएको उनको घुमाउरो आरोप छ ।

‘यी दुई विमानस्थल धेरै खर्चमा बनाइए पनि के कति व्यवसायिक अध्ययन, अनुसन्धान गरियो भन्नेबारे हाकिम र तत्कालीन मन्त्रीज्यूहरुलाई नै थाहा होला’ मन्त्री किराँतीले भने, ‘अब यसरी हुँदैन भनेर नयाँ दुइ वटै अन्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पीपीपी मोडलमा जान छिट्टै नागरिक उड्डयन प्राधिकरणबाट निर्णय गरेर मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदै छु । सँगै, कूटनीतिक पहलमार्फत व्यवसायिक योजना पनि ल्याउन लागेका छौँ ।’

मन्त्रिपरिषदमा प्रस्ताव लैजाने गरी तयारी सकिएको छैनः मन्त्रीको सचिवालय

मन्त्री किराँतीको सचिवालयले पनि पोखरा र भैरहवा विमानस्थल अर्बौ रुपैयाँ ऋणमा बनेका संरचना भएकाले तिनको व्यवसायिक उपयोग हुन नसकेकोप्रति मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण क्यानसँग छलफल गरिरहेको बताएको छ । मन्त्री किराँतीका सचिवालयका एक सदस्यले यी एयरपोर्टलाई पीपीपी मोडलमा लैजानेबारे छलफल भइरहेको र अब केही समयमै निर्णय हुने बताए । उनका अनुसार निर्णय मन्त्रालय स्तरबाट नभई मन्त्रिपरिषदबाटै हुनेछ ।

‘पीपीपी मोडलमा लैजाने भन्ने छलफल भइरहेको छ, अहिले नै मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तहको निष्कर्ष आइसकेको छैन’ मन्त्री किराँतीको सचिवालय स्रोतले भन्यो, ‘जसरी हुन्छ, जुन मोडलमा हुन्छ पोखरा र भैरहवा एयरपोर्ट चलाउनुपर्छ भन्ने मान्यता हो, सोही अनुसार पीपीपी मोडलमा जान सकिन्छ कि भनेर यसमा छलफल अघि बढेको छ । तर, अहिले नै क्याबिनेटमा प्रस्ताव लैजाने गरी तयारी सकिएको छैन ।’

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल ३२ अर्ब ऋणमा, पोखरा एयरपोर्ट २२ अर्ब रुपैयाँ ऋणमा बनेका हुन् । भैरहवाबाट फाट्टफुट्ट अन्तराष्ट्रिय उडान भएपनि पोखरामा भने शून्य छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved