
नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल व्यवसाय सञ्चालनको इजाजतपत्र पाएको ’ग्लोबल इक्विटी फण्ड’ले नयाँ फण्ड संचालनको तयारी गरेको छ । फण्डले महिलाहरुलाई लक्षित् गरेर ’नेपाल वोमेन ग्रोथ इक्विटी फण्ड’ संचालनको तयारी गरेको हो ।
आगामी नोभेम्बरमा फण्ड घोषणा गर्ने तयारी भईरहेको र हाल यस फण्डको लागि स्रोत जुटाउनको लागि विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया भईरहेको ग्लोबल इक्विटी फण्डका म्यानेजिङ पार्टनर डा. मनिष थापाले बिजपाटीलाई जानकारी दिएका छन् । डा. थापाका अनुसार ’नेपाल वोमेन ग्रोथ इक्विटी फण्ड’ अरु भन्दा पृथक रहने छ ।
उनका अनुसार यस फण्डले लगानीको लागि विभिन्न शर्त तोकेको छ । जस अनुसार यस फण्डले ५० प्रतिशत भन्दा बढी महिलाको लगानी भएका कम्पनी वा व्यवस्थापनमा ३० प्रतिशत भन्दा बढी महिला भएका कम्पनी, वा ५० प्रतिशतभन्दा बढी महिलालाई रोजगारी दिइरहेको कम्पनी वा महिला लक्षित सामग्री उत्पादन गर्ने तथा सेवा दिने कम्पनीमा मात्र लगानी गर्ने छ । यस फण्डको आकार सुरुवातमा ५० करोडको रहने छ । यो फण्ड पब्लिक लिमिटेड इन्भेष्टमेन्ट कम्पनीको रुपमा कार्यसंचालन गर्नेछ । यसले भविष्यमा सर्वसाधारणलाई शेयर समेत निष्काशन गर्नेछ ।
हाल ग्लोबल इक्विटी फण्डले ’नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड’ संचालन गरिरहेको छ । यस फण्डको आकार १५० करोड रहेको छ । यस फण्डमा ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लगानी रहेको छ र अन्य इन्स्योरेन्स कम्पनीहरुसँग लगानीको लागि आह्वान गरेको डा. थापाले बताए । यस फण्डमा वैदेशिक लगानी पनि भित्राउने योजना छ । यस फण्डले स्थापना भईसकेका कम्पनीमा मात्र लगानी गर्दछ र संचालनको पाँच महिनामै मुनाफा हासिल गरेको छ ।
डा. थापाका अनुसार हाल ’नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेस्टमेन्ट फण्ड’ ले ५ वटा कम्पनीमा लगानी गरेको छ । हाल यस फण्डले उपाय सिटी कार्गो, दिगो इलेक्ट्रिक भेइकल्स, मेवा डेभलपर्स, एबिआई र उर्जा इम्याक्ट फण्डमा लगानी गरेको छ । नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्ड पनि पब्लिक कम्पनीको रुपमा रहेको छ र निकट भविष्यमा प्रिमियममा आईपीओ निष्काशन गर्ने योजना बनाएको छ ।
ग्लोबल इक्विटी फण्डले नेपाल धितोपत्र बोर्डको विशिष्टिकृत लगानी कोष नियमावली अन्तर्गत संचालन गर्न फण्ड ’नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फण्ड’ को अन्तिम तयारी गरिरहेको छ । डा. थापाका अनुसार यस फण्डको आकार २ अर्ब रहेने छ । यसले स्टार्टअप तथा ग्रोथ स्टेजका कम्पनीमा लगानी गर्नेछ ।
ग्लोबल इक्विटी फण्डको अन्तर्राष्ट्रय स्तरको लगानी मापदण्ड रहेको र लगानीको निर्णय गर्दा सो मापदण्ड अनुसार नै लगानी गर्ने म्यानेजिङ पार्टनर डा. थापा बताउछन् । उनका अनुसार नाफा हेरेर भन्दा पनि अर्थतन्त्रलाई योगदान दिने कम्पनीमा लगानी गर्ने गरिनेछ ।
ग्लोबल इक्विटी फण्डले देश भित्र र देश बाहिरबाट पनि वैदेशिक लगानी (एफडिआई) को रुपमा फण्ड संकलन गर्नेछ । हाल ग्लोबल इक्विटी फण्डले कुल ३.५० अर्बको फण्ड संचालन गर्ने योजना राखेको छ ।