ट्याक्सी चालकले भनेजस्तो टुटल र पठाओले ठगी धन्दा चलाईरहेका हुन् त ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2021 | 11:28:37 AM मा प्रकाशित

laxmi  sunrise bank

टुटल, पठाओ जस्ता स्टार्टअप राइड सेयरिङ एपले कानुन अभावमा विभिन्न झमेला खेप्दै आएका छन् । एकातिर कानुन नहुँदा निर्देशनको भरमा चल्नुपर्ने बाध्यता र अर्कोतर्फ ट्याक्सी चालकहरुबाट पेलिनु पर्ने बिडम्बना टुटल र पठाओलाई छ ।

सस्तो र छिटो सेवा दिने भएकाले टुटल र पठओलाई सर्वसाधारणले पनि औधी रुचाउँछन् । ‘पब्लिक सपोर्ट’ पाएकै कारण ट्याक्सी व्यवसायीहरुको माग अनुसार सरकारले टुटल र पठाओ बन्द गराउन सकेको छैन । एक त रोजगारी सिर्जना र अर्कोतर्फ सर्वसाधारणले खोजेको सेवा पाएका कारण पनि सर्वसाधारण माझमा यिनीहरु लोकप्रीय बन्दै गएका छन् । 

‘पठाओले हाम्रो रोजीरोटी खोस्यो’

मानिस एक्लै कतै गन्तव्यमा जानुपर्यो भने ट्याक्सी खोज्दैन । पठाओको सेवा सस्तो र छिटो गन्तव्यमा पुगिने भएकाले उसले पठाओ वा टुटल खोज्छ । यसले आफूहरुको रोजीरोटी खोसिएको ट्याक्सी वालाहरुको गुनासो छ ।

यही झोकमा ट्याक्सी ड्राइभरले बालाजु क्षेत्रमा पठाओ राइडरमाथि आक्रमण नै गरे । ट्याक्सी चढ्न ठिक्क परको व्यक्तिलाई ‘म सस्तोमा लगिदिन्छु’ भनेर पठओवालाले बोलाएको भन्दै ट्याक्सी ड्राइभरहरुले पठाओका चालकहरुलाई कुट्ने र मोटरसाइकलमा पनि आगजनी गरिदिए ।

ट्याक्सीहरु मिटरमा भन्दा बार्गेनिङ गरेर पहिला नै भाडा तय गरेपछि मात्रै गन्तव्यतर्फ लाग्ने भएकाले उनीहरुको यस्तो खालको कमाईमा पठाओ र टुटलले ब्रेक लगाईदिएकै हुन् । नेपाल मिटर ट्याक्सी सेवा प्रालिका अध्यक्ष हरिकृष्ण बस्नेत ट्याक्सी कानुनी रुपमा सञ्चालन भएर सरकारले तोकेको नियम पालना गरेर गुड्ने तर पठओ टुटल भने आफूखुशी चल्ने र सरकारलाई करमा कुनै योगदान नगर्ने भएकाले उनीहरुले ‘ठगिरहेको’ बताउँछन् । 

कानुनका लागि लविङ

नेपाल उद्योग वाणिज्य महासंघका स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रञ्जितराज आचार्य ट्याक्सी चालक र ट्याक्सी धनीहरुले पठाओ र टुटलले गरी खान दिएनन् भन्नु गलत भएको बताउँछन् ।

‘सरकारले स्टार्टअप विजनेश आए भने कानुन बनाएर सहजिकरण गरिदिनुपर्छ’ उनले भने, ‘अहिलेको समस्या भनेको कानुनको हो, यसबारे महासंघले लविङ गरिरहेको छ ।’ 

‘ठगीको आरोप पुष्टि गरियोस्’

अहिले कानुनको अभावमा पठाओ र टुटलले आफ्नो भाडादर आफैँ कायम गरेका छन् । तर, यो दर ट्याक्सीको भन्दा ७० प्रतिशत सस्तो छ । ट्याक्सीवालाहरु भने पठाओ र टुटलले आफैँ भाडा तोकेर ठगी काम गरिरहेको बताउँदै आएका छन् । 

टुटलका संस्थापक सीईओ शिक्षित भट्ट सरकारले रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेकाले स्टार्टअप विजनेशलाई पोलिसी ल्याएर सञ्चालन गर्न दिनुपर्ने बताउँछन् । कसैले टुटललगायत राइड सेयरिङ एपले ठगी गर्दैछन् भन्ने आरोप लगाएकै भरमा आफूहरु पछि नहट्ने उनको भनाई छ । उनले राइड सेयरिङले ठगी गरेको पुष्टि गर्न पनि चुनौती दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved