१२ बुँदे साझा संकल्प जारी गर्दै सकियो सहकारीका सिईओको राष्ट्रिय गोष्ठी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2023 | 08:42:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) १२ बुँदे साझा संकल्प जारी गर्दै बिहीबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।

गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञ तथा स्रोत व्यक्तीहरुको प्रस्तुतीकरण थियो । कार्यक्रममा देशभरका करिब ४ सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुख (सिईओ)हरुको उपस्थिती रहेको थियो । गोष्ठीमा सहभागी सिईओहरुले सहकारी संस्थाले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने संकल्प प्रस्ताप पारित गरेको छ ।

गोष्ठीले अलग्गै बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवस्यक पैरबी गर्ने संकल्प समेत पारित गरेको छ । एकिकृत स्वनीयमन मार्गनिर्देशन पालन गर्ने, संस्थागत विकास र सुदृढिकरणको लागि स्तरीकरण कार्यक्रममा आवद्ध हुने र सुरक्षित संस्था निर्माण गर्न पल्र्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता सिईओहरुले गरेका छन् ।

त्यस्तै बाध्यकारी नियामकीय प्रबन्धहरु पुर्णरुपमा कार्यान्वयन गर्ने समेत प्रतिवद्धता जनाएका छन् । जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

नेफ्स्कूनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक पनेरुले साझा संकल्प वाचन गरेका थिए । साझा संकल्प वाचन गर्दै पनेरुले सहकारी अभियानको वर्तमान समस्या सम्बोधनमा दिशानिर्देशन गर्ने बताए ।

यस्ता छन् १२ संकल्प :

१. बचत तथा ऋण सहकारीहरुको सेवा स्तरीकरण, संस्थागत दिगोपना र अलग्गै पहिचानका लागि नीतिगत वातावरण तयार गर्न बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवश्यक पैरबी गर्ने ।

२. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सदस्य संघ संस्थाहरुलाई जारी गरिएको एकिकृत स्वनियमन मार्गनिर्देशन पालन गर्ने ।

३. बचत तथा ऋण सहकारीहरुको छबी संरक्षण र प्रविधि हस्तान्तरणका लागि विकास भएका स्तरीकरण (एक्सेस, प्रोवेसन तथा कर्ब्स) कार्यक्रमहरुमा सहभागि भइ संस्थागत विकास र सुदृढिकरण गर्ने ।

४. कोभिड-१९ पश्चात वृहत अर्थ व्यवस्थामा आएको बदलाव र सो को बचत तथा ऋण सहकारीहरुमा परेको प्रभावबाट सदस्यहरु र संस्थाको संरक्षणका लागि संस्थाको आकार, संरचना र योजनाहरुको समिक्षा गरी सन्तुलन कायम मार्फत स्वस्थ्य र सुरक्षित साकोस निर्माण गर्न पर्ल्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने ।

५. कोभिड-१९ पश्चात तरलता लगायत कारणले संकट उन्मुख साकोसहरुको सुरक्षाका लागि स्व जागरण सहजिकरण (Self Recovery Facilitation Program- SRFP) विकास गरी संघ मार्फत कार्यान्वयन गर्ने । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी सकारात्मक लेख रचनाहरु नियमित सार्वजनिक सञ्चार माध्यमहरुमा प्रकाशन गर्ने ।

६. वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यवसायिक जनशक्ति विकासका लागि निरन्तर प्रणाली, पद्धती र प्रविधिको अवलम्बन गर्न श्रम ऐनले तोकेका सेवा सुबिधा तथा सुरक्षाका न्यूनतम शर्तहरु संस्थामा पालन गराउने र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नेफ्स्कून साकोस म्यानेजर्स क्लबको सहभागिताका कार्यशाला आयोजना गर्ने ।

७. बचत तथा ऋण सहकारीहरुको लागि व्यवस्था गरिएका बाध्यकारी नियामकीय प्रबन्धहरु (कोपोमिस, गो ए एम एल ) पुर्णरुपमा कार्यान्वयन गर्ने र कार्यान्वयनमा कठिन भएका क्षेत्रहरुमा संघबाट सहजिकरणको व्यवस्था गराउने ।

८. वाह्य तथा आन्तरिक रुपमा देखा पर्ने जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध भइ नियमित जोखिम सुपरिवेक्षण गर्ने र व्यवस्थापनमा पहिला सुरक्षाको सिद्धान्त कार्यान्वयन गर्ने ।

९.न्यून लागतमा समाबेशी वित्तीय सेवा समुदायका सबै वर्गमा प्रवाह गर्न सञ्जालको साझा सेवाको रुपमा प्रविधि विकासमा योगदान गर्ने र उपलब्ध भए सम्म सञ्जालको साझा प्रविधिको उपयोग गर्ने ।

१०. सदस्यहरुको समृद्धि र वास्तविक अर्थ व्यवस्थामा नै योगदानका लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्न पाँच करोड भन्दा माथि कारोवार गर्ने सबैले अनिवार्य व्यवसाय विकास सेवा कक्ष स्थापना र जनशक्ति व्यवस्थापन मार्फत सदस्यहरुलाई व्यवसाय विकास सेवा उपलब्ध गराउने ।

११. साकोस एकरुपता प्रणाली कार्यान्वयन करारीय सम्झौता मार्फत गर्न नेफ्स्कूनसंग सम्झौता गरी कार्यान्वयन सुनिश्चितता गर्ने र सञ्जालको सक्षमता विकासका लागि संस्थाको वित्तीय तथा गैह्र वित्तीय स्रोत सञ्जाल मार्फत परिचान गर्न संघ संस्थको तोकिएको तथ्याङ्क तोकिएको ढाँचामा तोकिएको समयमा नै उपलब्ध गराउने ।

१२. उपरोक्त प्रतिवद्दताहरु संघ संस्थामा नीतिगत व्यवस्था गरि क्रमश कार्यान्वयन गर्ने।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved