विश्वास गरेको पहुँचवालाले नै डुबाइदिए झण्डै ५० सहकारीको १६ अर्ब, सहकारी दिवस खल्लो

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2023 | 02:50:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बचतकर्ता डुबाएर सहकारी सञ्चालकहरु फरार भएका घटनाहरु सार्वजनिक भइरहेका बेला  ‘सहकारीको दिगोपना, स्वनियम र सुशासन’ भन्ने नारासहित आज ६६औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । 

बचतकर्ताहरु मन कुँड्याएर दिवस बनाउन बाध्य छन् । किनकी सहकारी व्यवस्थापन समिति (तत्कालिन समस्याग्रस्त सहकारी व्यवस्थापन समिति) मा समस्याग्रस्त घोषणा भएका सहकारीको लिस्ट दर्जन पुगिसकेको छ । 

सानो रकम दावी परेका केही सहकारीले दावी अनुसार रकम फिर्ता पाए पनि ठूलो रकम दावी परेका सहकारीले रकम फिर्ता गर्न सकेको छैन। उनीहरुका सम्पत्ति रोक्का राखिएको छ । कतिपय सहकारीका कागजात नै फेला नपर्दा समितिले पनि काम गर्न सकेको छैन । प्राप्त विवरणमा हाइप्रोफाइका व्यक्तिले नै चलाएका सहकारीमा बढी समस्या देखिएको छ । झण्डै ५० सहकारीका १६ अर्बभन्दा बढी रकम यसरी दुरुपयोग भएको भन्दै उजुरी नै परेको छ । 

ओरियन्टलदेखि तुलसीसम्म

नेपालमा सञ्चालनमा आएका सहकारीहरुको नियमन फितलो हुँदा सञ्चालकहरुले बचतकर्ताबाट सङ्कलन गरेको बचत रकम आफूखुसी लगानी गर्दा समस्या सिर्जना भएको पूर्व सचिव गोपीनाथ मैनाली बताउँछन् । उनको यो भनाइलाई पुष्टी गर्ने सहकारी हो ओरिएन्टल को–अपरेटिभ । 

२०५३ सालमा स्थापना भएको ओरिएन्टल सहकारीका सञ्चालक थिए सुधीर बस्नेत । उनले बचतकर्ताबाट सङ्कलन गरेको रकम रियलस्टेटमा लगानी गरे । अपार्टमेन्ट र हाउजिङ परियोजनामा ८ हजार बचतकर्ताको ४ अर्ब रुपैयाँ जति आफूखुशी लगानी गरेका बस्नेत अन्ततः समस्यामा परे । २०६६ सालमा घरजग्गा व्यवसायमा मन्दी आउँदा बस्नेत क्रमशः ओरालो लाग्दै गए । अहिले उनी जेलमा छन् ।

सहकारीमार्फत बचतकर्ता डुबाउने अर्का ‘हाई प्रोफाइल’ व्यक्ति हुन् व्यवसायी इच्छाराज तामाङ । उनी अध्यक्ष रहेको सिभिल बचत तथा ऋण सहकारीमा २ हजार ७ सय बचतकर्ताले ७ अर्ब बढी रकम निक्षेपमा राखेका थिए । तर, तामाङले पनि सुधिर बस्नेतकै ‘स्टाइल’मा बचतकर्ताबाट सङ्कलित रकम घरजग्गामा खन्याए । घरजग्गा कारोबारमा मन्दी आएपछि इच्छाराज तामाङ क्रमशः घाटामा आउन थाले । फलतः उनले सिभिल सहकारीका सदस्यलाई डुबाए । अहिले उनी पनि थुनामा छन् ।

सञ्चालक रामबहादुर गौतमले आफूखुशी बचतकर्ताको रकम घरजग्गामा जथाभावी लगानी गर्दा कुलेश्वरको गौतमश्री सहकारी पनि बचतकर्ताको पैसा फिर्ता दिनै नसक्ने अवस्थामा पुगेको छ । १५ सय बचतकर्ताको २ अर्ब बढी रकम गौतमले हिनामिना गरेका छन् ।

देउराली, शिवशिखर र तुलसी सहकारी पनि ‘प्रभावशाली’ व्यक्तिहरुबाटै चलाइएका थिए । तर, यी सहकारी पनि अहिले बचतकर्ता डुबाएका सहकारीमा दर्ज भएका छन् ।तुलसीका अध्यक्ष केदारनाथ शर्मा भारत गएर बसेका छन् । प्रहरीले उक्त घटनाको अनुस्न्धान गरिरहेको छ ।

पहुँचवालाले चलाएका सहकारीमा बेथिति ज्यादाः बैकुण्ठ अर्याल प्रतिवेदन

सहकारीहरुहरुमा समस्या बढ्दै गएपछि किन यस्तो भइरहेको छ भनेर अध्ययन पनि हुने गरेको छ । अर्थ मन्त्रालयका तत्कालिन सहसचिव (हाल प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव) बैकुण्ठ अर्यालको नेतृत्वमा एउटा समिति बनेको थियो । 

समितिले आजभन्दा करिब १२ वर्ष अगाडि नै पहुँचवालाले चलाएका सहकारीमा वेथिति बढढिरहेको भन्दै सहकारीलाई व्यस्थित नगरे ठगिनेहरुको सङ्ख्या अत्याधिक हुने भनेर चेतावनी नै दिएको थियो । सहकारीलाई कडाइका साथ नियमन गर्न नयाँ कानुन बनाउनुपर्ने सुझाव पनि प्रतिवेदनमा उल्लेख थियो । तर, त्यो प्रतिवेदन त्यत्तिकै थन्कियो ।

‘त्यतिबेला नै समाजमा कहलिएका, राजनीतिक तहमा पहुँच र प्रभाव राख्न सक्ने व्यक्तिहरुले चलाएका सहकारीमा वेथिति बढी देखिए भनेर बैकुण्ठ अर्याल प्रतिवेदनले भनेको थियो’ पूर्वसचिव गोपीनाथ मैनाली स्मरण गर्दै भन्छन्, ‘अहिले जति पनि सहकारी बचतकर्ताको बचत रकम फिर्ता दिन नसक्ने अवस्थामा पुगेका छन्, सञ्चालकहरु भागेका छन् यी सबै सहकारीहरु प्रभावशाली भनिएका व्यक्तिहरुबाट चलाइएकाहरु नै छन् ।’

सुधिर बस्नेत र इच्छाराज तामाङबाहेक पनि रवीन्द्र चौलागाईं (देउराली बहुउद्देश्यीय सहकारी), चन्द्रबहादुर लामा (पशुपति सेभिङ एण्ड क्रेडिट), केदारनाथ शर्मा (तुलसी सहकारी) र रामबहादुर गौतम (गौतमश्री बहुउदेश्यीय सहकारी) पनि कम प्रभाव राख्ने व्यक्ति होइनन् । 

शर्मा स्थानीय चुनावमा उम्मेदवार नै बनेका व्यक्तिका आफन्त हुन् । चन्द्रबहादुर लामा काँग्रेसका जल्दाबल्दा नेता नै हुन् । गौतम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका खास मान्छे भएको बताइन्छ भने राजावादीसँग पनि उनको उत्तिकै सङ्गत थियो ।

यसले पनि बैकुण्ठ अर्याल प्रतिवेदनले प्रभावशाली व्यक्तिहरुबाट सञ्चालित सहकारीहरुमा वेथिति बढ्दो क्रममा छ भनेर गरेको किटान पुष्टी गरेको छ । पछिल्लो समय सहकारी विभाग आफैँले पनि गर्दै आएको अध्ययनमा ५० बढी ठूला सहकारी (सहकारी विभागमै दर्ता भएका)मा समस्या देखिएको छ । 

सहकारीको पैसा सञ्चालकले जग्गामा हाल्दा समस्या भयोः केशव पौडेल (सदस्य सचिव–सहकारी व्यवस्थापन समिति)

सहकारी व्यवस्थापन समितिका सदस्यसचिव केशव पौडेलले समस्यामा आएका भनिएका सहकारीहरुले समानान्तर बैंकको अभ्यास गर्दा समस्या देखिन थालेको बताएका छन् । 

चाँडो नाफा कमाउने ध्ययले सञ्चालकहरुले बचतकर्ताबाट सङ्कलन भएको निक्षेप रकमलाई हाउजिङ, अपार्टमेन्ट र प्लटिङमा लगाउँदा समस्या सिर्जना भएको उनको भनाइ छ । देशभरमा ३१ हजार बढी सहकारी छन् । यी सहकारीले १० खर्ब बढी पूँजी परिचालन गरेका छन् । 

बचत रकम फिर्ता नपाएको भन्दै सहकारी विभाग, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहमा उजुरी दिएका बचतकर्ताहरुले १६ अर्ब रुपैयाँभन्दा बढी रकम दावी गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved