बचतकर्ता मात्रै होइन, बैंकलाई नै डुबाउँदैछन् सहकारी

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 19, 2024 | 01:11:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकी समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाहरुले बचतकर्तासँगै सहकारी बैंकलाई समेत डुबाएको पाइएको छ । बचतकर्ताबाट संकलन गरेको बचत रकम फिर्ता नगरेका सहकारीले सहकारी बैंकबाट लिएको ऋण समेत नतिरेको खुलेको हो।

सरकारले समस्याग्रस्त घोषणा गरेका मध्ये ३ वटा सहकारीले मात्रै राष्ट्रिय सहकारी बैंकबाट कर्जा लिए पनि पछिल्लो समय सहकारीहरु नै अप्ठ्यारोमा परेकाले कर्जा असुलीमा समेत समस्या भइरहेको राष्ट्रिय सहकारी बैंकको भनाई छ । बैंककाअनुसार अहिलेसम्म २८ अर्ब कर्जा लगानी भएको छ भने पछिल्लो समय खराब कर्जा अनुपात पनि बढ्ने क्रममा रहेको छ । 

२०८० फागुन ४ गते समस्याग्रस्त घोषणा भएको कान्तिपूर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले सहकारीले सहकारी बैंकबाट २३ करोड ऋण लिएको छ । बचतकर्ताको बचत रकम नै फिर्ता दिन नसकेपछि समस्याग्रस्त घोषणा भएको कान्तिपूर सहकारीका सञ्चालकले ७ लाख बचतकर्ताको ६ अर्ब १३ करोड बढी अपचलन गरेको आरोप छ । यो आरोपमा सहकारीका अध्यक्ष हिमालबिक्रम मल्ल पक्राउ नै परेका छन् । तर, सहकारीले भने ६ अर्ब २२ करोड लगानी गरेको दाबी गरेको छ । 

‘हामीबाट २३ करोड चानचुन लोन लिएको छ, उसले (कान्तिपूर सहकारीले) तिर्न छोडेको पनि धेरै भएको छ, उसले आफ्नै जग्गा धितो राखेर ऋण लगेको हुनाले लिलामी प्रक्रियामा जाने कि भनेर हामी छलफलमा थियौँ, ठिक त्यसै बेला सरकारले समस्याग्रस्त घोषणा गरिदियो’ सहकारी बैंक स्रोत भन्छ, ‘अब समस्याग्रस्त सहकारीहरुलाई हेर्ने सहकारी व्यवस्थापन समितिले नै टुंगो लगाउँछ, हाम्रो यति ऋण तिर्न बाँकी छ भनेर हामीले मागदाबी गर्छौँ ।’

यस्तै, ३२ हजार ५ सय बचतकर्ताको ११ अर्ब बढी रकम हिनामिना गरेको शिवशिखर बहुउदेश्यीय सहकारी संस्थाले पनि सहकारी बैंकलाई साँवा ब्याज गरेर ७ करोड जति तिर्न बाँकी छ । २०८० भदौ २५ मै समस्याग्रस्त घोषणा भएको शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परिसकेका छन् । उनले बचतकर्ताबाट संकलन गरेको रकम आफ्नो व्यक्तिगत व्यवसाय र मार्टमा लगानी गरेका थिए ।

‘शिवशिखरले लिएको साँवा ५ करोड जति मात्रै हो, लामो समयसम्म साँवा ब्याज नतिर्दा साँवा ब्याज र जरिवानासमेत जोड्दा ७ करोड जति पुगेको छ’ सहकारी बैंक स्रोत भन्छ ।

यस्तै, श्रममन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल जोडिएको हाम्रो कृषि सहकारी संस्थाले पनि सहकारी बैंकबाट लिएको ७ लाख ऋण तिरेको छैन । हाम्रो कृषि सहकारीलाई सरकारले माघ ११ गते समस्याग्रस्त घोषणा गरेको छ।

यसरी बचतकर्ताको बचत फिर्ता नगरेको मात्रै नभई सहकारी बैंकबाट लिएको ऋणसमेत नतिरेर सहकारीहरुले सहकारी बैंकलाई समेत समस्यामा पारेका छन् । हाल सहकारी बैंकमा सदस्य भएका १६ हजार २९३ सहकारीमध्ये २४ सय जति सहकारीले ‘थर्ड पार्टी कोल्याट्रल’ राखेर ऋण लिएका छन् ।

यो पनि : सहकारीमा ‘थर्ड पार्टी कोल्याट्रल’ : ऋण तिर्दा पनि फिर्ता हुँदैन धितो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved