नेपाल प्रहरीको साइबर ब्युरोले प्रविधिको दुरुपयोग गरि अश्लिल गतिविधि भईरहेकाले सचेत हुनलाई आग्रह गरेको छ। आफु प्रहरीको साइबर अपराध विभागको मान्छे भएको बताएर ह्याक भएको अकाउन्ट खुलाउन नग्न तस्वीर वा श्रव्यदृष्य माग गर्ने गरेको पाइएकाले ब्युरोले सचेत गराएको हो।
एकपटकको लागि ह्याक भएको एकाउन्टबाट फोटो भिडियो भाईरल हुनबाट बचाएको र अब फेरी त्यस्तो हुन नदिनलाई नग्न तस्वीर वा श्रव्यदृष्य आवश्यक पर्ने भन्दै ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गर्ने गरेको पाइएको ब्युरोले जनाएको छ।
यस्ता गिरोहले प्रविधिको दुरुपयोग गरेर व्यक्तिको फेसबुक ह्याक भएको बहाना बनाई त्यसको प्रमाणीकरणका लागि नग्न तस्वीर वा श्रव्यदृष्य माग गर्ने गरेको पाइएको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।
‘उनीहरुले फोन गरेर तपाईँको एकाउन्टबाट नग्न, तस्वीर तथा भिडियो भाइरल भइरहेको र एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ, त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक्कली आइडी डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजूरी प्राप्त भइरहेको छ’, ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ब्युरोले यस्तो गतिविधिबाट सचेत रहन तथा आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन सचेत गराएको छ। त्यस्तै यस्ता गतिविधि थाहा पाएमा प्रहरीको साइबर ब्युरो वा नजीकको प्रहरी कार्यालयमा सूचना दिनलाई ब्युरोका सूचना अधिकारी नविन्द अर्यालले अनुरोध गरेका छन्।