ठगीका गिरोहको हुरीले उडाइदियो शरणार्थी भइ अमेरिका छिर्ने सपना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 02:12:10 PM मा प्रकाशित

laxmi  sunrise bank

शरणार्थी बनेर अमेरिका छिर्ने सपना बुनेका ८१ जना अहिले पुर्पुूरोमा हात लगाएर बस्न बाध्य भएका छन् । ‘लोभले लाभ, लाभले विलाप’ भन्ने उखान यहीँ चरितार्थ भएको छ । ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत पनि ठ्याक्कै मिल्न गएको छ । उनीहरु अहिले रकम फिर्ताको माग गर्दै हार–गुहार गरिरहेका छन् । 

लामो समयसम्म अमेरिका लैजाने कुनै सुरसार नभएपछि जब ठगीएको चालपाए, त्यती बेला धेरै ढिला भइसकेको थियो । उनीहरुलाई यसरी फसाउन गिरोह नै सक्रिय भएका छन् । उक्त समुहलाई २०७७ सालदेखि हालसम्म ८१ जना पीडितले करिब र १३ करोड ६३ लाखभन्दा बढी रकम बुझाए । अमेरिका जान भने पाएनन् नै आफ्नो ठुलो रकम समेत गुमाउनु परेको छ ।

उनीहरुले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिहरुलाई प्रयोग गरी उनीहरुका आफन्त र नातागोतालाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीको नाम दर्ता गर्न भन्दै फारम भर्न लगाएका थिए । त्यसरी लोभमा फसाएर शरणार्थी फारम भर्नै लागि भनी रु १५ देखि २० लाख लिने गरेका थिए । यसरी फर्म भर्ने सबै नेपाली नागरिक रहेको पाइएको छ । 

ठगी गर्ने त्यो समूहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरुसँग सेटिङ भइरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्रहरु देखाएर पीडितलाई विश्वासमा पार्थे । अझै विश्वास दिलाउन पत्रपत्रिका र अनलाइनहरुमा आएका फोटो र न्यूजहरु तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीहरुको सरुवासम्बन्धी समाचारसमेत पीडितहरुलाई सेयर गरी शतप्रतिशत काम हुन्छ भनी बहाना बनाउने गरेका थिए ।  

पीडितहरुलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा पटक–पटक बोलाई हैरानी दिने गरेको पीडितहरुले दिएको जाहेरीमा उल्लेख छ । काम नभएमा पैसा फिर्ता गरिदिन्छु भनी ठगी गर्ने व्यक्तिले ग्यारेन्टीको रुपमा रित नपुगेका र पर्याप्त रकम नभएका ८ करोड बराबरको चेकहरु पीीडतलाई दिएका छन् । 

ठगी भएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका थिए । पीडितहरुले ६५ लाखभन्दा बढी रकम विभिन्न व्यक्तिको खातामा डिपोजिट गरेको पाइएको छ । पीडितहरुमध्ये १० जनाभन्दा बढीको नाममा नेपाल सरकार गृह मन्त्रालयको नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनेको छ । 

लामो समयसम्म अमेरिका जाने नदेखिएपछि आफूहरु ठगी भएको थाहा पाइ पीडितहरुले आफ्नो पैसा फिर्ता गरभन्दा पीडकहरुले उल्टै ज्यान मार्नेसम्मको धम्की दिएका पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

आरोपी तीन पक्राउ 

उक्त घटनाका तीन आरोपीलाई कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी घर भइ हाल ललितपुरको धापाखेल बस्ने वर्ष ४९ को केशवप्रसाद दुलाल र पाँचथप घर भइ हाल ललितपुरको धापाखेल बस्ने टङ्ककुमार गुरुङ रहेका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए ।

तीन जनालाई ललितपुरको धापाखेल क्षेत्रबाट पक्राउ गरी मुलुकी अपराध संहिताको दफा २४९(१) र (२) बमोजिमको कसुरमा आवाश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको पनि उहाँले जानकारी दिनुभयो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved