डलर भनेर लिइएको पोकोमा कागज परेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 06:36:49 PM मा प्रकाशित

laxmi  sunrise bank

ठगीका गिरोहले विभिन्न बहानामा मानिसहरुलाई ठगी र लुटपाट गरिरहेका छन् । यस्तै घटना हालै काठमाडौँमा पनि भएको छ । ती गिरोहले डलर साट्ने बहाना बनाएर नागरिकहरुलाई एकान्त ठाउँमा बोलाउने अनि कागजको पोका दिएर उनीहरुसँग भएको लाखौँ रकम लुट्ने र ठग्ने गरेको भेटिएको छ । 

काठमाडौँको तारकेश्वर र थानकोटलगायत उपत्यकाका विभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने भनि प्रलोभनमा पारी श्रृङखलाबद्ध रुपमा ठगी गरेको पाइएको प्रहरीले बताएको छ । 

त्यसतो ठगीमा संलग्न रहेका व्यक्तिहरुको खोजतलास गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको विशेष प्रहरी टोलीले गोकर्णेश्वरको अत्तरखेल र नाम्खेलबाट डलर साट्ने कार्यमा संलग्न ५ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । उनीहरुलाई ठगी मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । 

प्रतिवादीहरुले पीडित व्यक्तिहरुलाई पटकपटक फोनमार्फत सम्पर्क गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटीदिने प्रलोभनमा पार्ने गरेका थिए । उनीहरुले १ र ५० दरका अमेरिकी डलर पीडित पक्षलाई प्रत्यक्ष देखाइ विश्वासमा पार्ने र सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका सागुरा गल्ली, पातलो मानववस्ती र जङ्गल आसपासको स्थानमा बोलाउँथे ।

पीडित पक्षलाई झुक्यानमा पारी डलर भनी रु ५, १०, २० र नेपाली नोट साइजको पेपरकाटी रुमालमा पोकोपारी दिइ पीडितसँग भएको लाखौँ रुपैयाँ लुटपाट गरी फरार हुने गरेको रेग्मीले बताए । 

यसरी ठगी गरेपछि ठगी तथा लुटपाटमा सङ्लग्न हुने त्यस्ता व्यक्तिहरुले विभिन्न नम्बरका मोबाइलहरु प्रयोग गर्ने र घटना पश्चात प्रयोग गरेका मोबाइलहरु पुनः प्रयोग नगर्ने गरेको साथै पीडितसँग त्यस्ता व्यक्तिहरुको हुलिया मात्र थाहा हुने गरेको भेटिएको छ । पक्राउ परेका व्यक्तिहरुले हालसम्म उपत्यका र उपत्यका बाहिरसमेत गरी विभिन्न ६ वटा यस्तै प्रकृतिका ठगीका घटना घटाइसकेको पाइएको छ । 

पक्राउ पर्नेमा धादिङको सुनौलो बजार घर भइ ललितपुर बस्ने ३२ वर्षीय  सुरेश कोइराला,  सिन्धुपाल्चोक बाह्रबिसे घर भइ काठमाडौँको गोकर्ण बस्ने प्रेमबहादुर तामाङ, विकास तामाङ, साजन तामाङ र धनकुटा घर भइ काठमाडौँ बस्ने दीपक दमाई रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved