भुटानी शरणार्थीका आवरणमा ठगी प्रकरणमा एमालेका सचिव रायमाझीका छोरा बुटवलमा पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2023 | 11:10:06 PM मा प्रकाशित

laxmi  sunrise bank

भुटानी शरणार्थी आवरणमा अमेरिका पठाउने भन्दै ठगि भएको प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी पक्राउ परेका छन्। रायमाझी बुटवलमा पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीकाअनुसार बुटवलमा पक्राउ परेका रायमाझीलाई भोली विहिबार काठमाण्डौ ल्याउने छ। पक्राउ परेकाहरुले दिएको बयानपछि अनुसन्धानको लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

प्रहरी स्रोतकाअनुसार भुटानी शरणार्थी आवरणमा अमेरिका पठाउने भन्दै गरिएको ठगिमा एक करोडको चेक लिएको अनुसन्धानको क्रममा भेटिएपछि मात्रै रायमाझीलाई पक्राउ गरिएको हो। त्यसो त यस प्रकरणमा आज बुधबार मात्रै पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। त्यस्तै भुटानी शरणार्थी आवरणमा अमेरिका पठाउने भन्दै ठगि भएको प्रकरणमा तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई पक्राउ परेका छन्। डा राई ०७४ साल फागुनदेखि ०७८ को असारसम्म तत्कालिन गृहमन्त्री बादलको सुरक्षा सल्लाहकार थिए। 

यहि प्रकरणमा संलग्न भएको भन्दै डा राईका छोरा निरजविरुद्द पक्राउ पुर्जी जारी भईसकेको छ। निरजविरुद्द पक्राउ पुर्जी जारी भएको काठमान्डौ प्रहरी परिसरले स्वीकार गरेको छ। यस प्रकरणमा पक्राउ परेका मध्ये राई सबै भन्दा उच्च तहका व्यक्ति हुन्। अनुसन्धानको क्रममा उनीहरुको संलगनताको बलियो आधार भेटीएपछि मात्रै यी व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो। 

यो प्रकरणमा गत १२ चैतमा काठमान्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये सानु भण्डारीको डा राईसँग निकटतम सम्बन्ध भएको भेटिएको छ भने दुलाल पुर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाका नीजि सहायक थिए। शर्मा र भण्डारी पुर्व उर्जामंत्री टोपबहादुर रायमाझीका सहयोगी थिए। 

यस प्रकरणमा पक्राउ परेका व्यक्तिहरुले बयानको क्रममा राम बहादुर थापा  बादलका छोरा प्रतिक पनि संलग्न भएको बयान दिएको प्रहरी उच्च स्रोतले बिजपाटीलाई बताएको छ। यस प्रकरणमा अन्य उच्च पदस्थ व्यक्तिहरुको पनि नाम आएको तर पोख्त प्रमाण जुटेपछि मात्रै उनीहरुलाई पक्राउको तयारी गरिएको स्रोतको दाबी छ। 

भुटानी शरणार्थीको समस्या स्थायी समाधानका लागि भन्दै २०७७ साल जेठमा एक कार्यदल बनेको थियो। जसमा छुटेका शरणार्थीको नाममा नेपालीको नाम राखेर ठग्ने योजना बनाइएको थियो। पुर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा गठन भएको कार्यदलकै आडमा ठगिएको भएको प्रहरी अधिकारी बताउँछ।  यस प्रकरणमा करिब ९०० ठगिएकोमा १६० जनाले मात्रै प्रहरीमा जाहेरी दिएका छन्। एकै परिवारका सदस्यसंग यस गिरोहले झन्डै दुई करोडसम्म पनि उठाएको पाइएको छ। यसमा कुल एक अर्ब भन्दा बढी रकम ठगि भएको प्रारम्भिक अनुसन्धानमा थाहा हुन आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved