रामेछापको खाँडादेवीको सिँचाई आयोजनामा २३ लाख भ्रष्टाचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2022 | 11:30:56 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको खाँडादेवी गाउँपालिकाको एक वडाको सिँचाई आयोजनामा चरम भ्रष्टाचार भएको छ ।

खाँडादेवी गाउँपालिका वडा नम्बर ९ पिङ्खुरीस्थित बेसिटोलमा सिँचाई आयोजना निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ मा बागमती प्रदेश सरकार र संघिय सरकारले विनियोजन गरेको ३२ लाख रुपैयाँमध्ये काम नै नगरी २३ लाख रुपैयाँ उपभोक्ता समितिले निकालेको भेटिएको हो ।

बेसिटोल सिँचाई योजनाका लागि खाँडादेवी गाउँपालिकाबाट सम्झौता हुनेगरी २० लाख र जिल्ला सिँचाई कार्यालय रामेछापबाट सम्झौता भएर काम हुने गरी ३२ लाख बजेट विनियोजन भएको थियो । खाँडादेवी गाउँपालिकाबाट सम्झौता भएर सञ्चालन हुने योजनाको अध्यक्ष सरोज भण्डारी र सचिव सुवास भण्डारी थिए । उनीहरुले काम सम्पन्न गरी पालिकाबाट चेक लिए । तर, पालिकाको लेखाले अध्यक्ष सरोज भण्डारीलाई फोन गरेर चेक फिर्ता गर्नुपर्यो भन्यो । जेठ १७ गते अध्यक्षले पालिकाको लेखामा लगेर चेक फिर्ता गरे । सरोकारवालासँग सल्लाह गरेर जेड १८ गतेसम्म चेक दिने बताईएको सचिव सुवासको भनाई छ । 

तर, सोही कुलोमा जिल्ला सिँचाई कार्यालय रामेछापबाट सञ्चालन हुने योजनाको काम नै भएन । स्थानीयहरुले किन काम भएन भनेर बुझ्दा खाँडादेवी गाउँपालिकाबाट सञ्चालित योजनाको फोटो खिचेर, त्यहीँ फोटो देखाएर पटक पटक गरी २३ लाख रुपैयाँ उपभोक्ता समितिले निकालेको भेटियो ।  

यसको उपभोक्ता समितिमा गणेश भण्डारी अध्यक्ष, शेर बहादुर भण्डारी सचिव र उनकै आफ्नै भाई चुडाराज भण्डारी कोषाध्यक्ष थिए । जिल्ला सिँचाई कार्यालयबाट पटक पटक गरी २३ लाख रुपैयाँ भूक्तानी भएको देखिएपनि सचिव शेर बहादुर भण्डारी आफूहरुलाई पैसा निकालेको जानकारी नरहेको दाबी गर्छन् ।

‘चुडराज मेरो भाई हो, मेरा २ वटी आमा मध्येको कान्छी आमाको छोरा हो’ सचिव शेर बहादुर भण्डारीले भने, ‘मलाई तपाईलाई पनि एउटा पदमा राखिदिएको छु भनेको थियो, मैले ठिकै छ भनेँ, त्यसपछि चेकमा हस्ताक्षर गर्नुपर्यो भन्यो, मैले खाली चेकमै हस्ताक्षर गरिदिए, भाइले गलत के गर्ला र भन्ने लाग्यो, अहिले कुरा यस्तो यस्तो हो भनेर उठेपछि फोन गर्दा उसको फोन अफ छ ।’

यता, जिल्ला सिँचाई कार्यालय रामेछापले भने ३२ लाखको योजनामा २३ लाख भूक्तानी दिईएको र बाँकी रकम भूक्तानीका लागि असार मसान्तसम्म कुर्नुपर्ने बताउँछ । जिल्ला सिँचाई कार्यालय रामेछापका कार्यालय प्रमुख रामनरेश मण्डलले भने आफू नयाँ नयाँ भएकाले यस विषयमा आफूले बुझेपछि मात्रै केही बताउन सक्ने बताएका छन् ।

कार्यालयका इन्जिनियर दिवाकर प्रसादले भने २ तिरकै काम एकै ठाउँमा हुँदा दुबै उपभोक्ता समितिले आफूले काम गरेको दाबी गरे जस्तो देखिएको र आफूहरु अनुगमनमा जान लागेको बताएका छन् । फागुनमा १२ लाख र त्यसपछि जेठमा ११ लाख भूक्तानी दिईएको र बाँकी बजेट काम हेरेर असार मसान्तमा भूक्तानी गर्ने र काम नभएको भए नदिने बताए । 

‘हामी गएर हेर्र्छौ, उपभोक्ता समितिका मान्छेसँग पनि बस्छौँ, स्थानीयसँग पनि कुरा गर्छौ, कसले काम लगाएको हो भनेर काम गर्ने व्यक्तिहरुसँग पनि कुरा गर्छौँ’ इन्जिनियर दिवाकरले भने, ‘खाँडादेवी गाउँपालिकाका प्रशासकीय अधिकृतसँग पनि कुरा गर्छौँ, काम भए नभएको थाहा भईहाल्छ ।’ 

उनले पहिलो भूक्तानी १२ लाख रुपैयाँ फागुनमा दिँदासम्म पालिकामार्फत हुने काम सुरु नै नभएको बताएका छन् । तर, अर्को उपभोक्ता समितिका सचिव सुवास भण्डारीले भने आफूहरुले पौष २० गतेबाटै काम सुरु गरेको र काम सकिँदासम्म ९ सय जना कामदार लागेको उनको दाबी छ । 

‘तपाईहरुले नभई चुडराज भण्डारी कोषाध्यक्ष भएको उपभोक्ता समितिले काम गरेको भन्ने छ नि ?’ भनेर बिजपाटीले प्रश्न गर्दा उनले भने, ‘यो कुरा काम गर्नेहरुले भन्लान् नि, हामीले काम सकिँदासम्म ९ सय जना जति (टोटल) लाई काम लगाएका छौँ, उनीहरुले त भनिहाल्छन् नि कसले काम लगाएको हो भनेर । काम हामी लगाउने, अनि अर्को उपभोक्ता समितिले मैले लगाएको हुँ भनेर हुन्छ र ? हामीले काम लगाएको हुनाले हामीले त्यो चेक पाउँछौँ, हिजो लेखाले फिर्ता मागेपछि हामीले दियौँ, आज लिन जान्छौँ, हामी फट्याईँ गर्न जान्दैनौँ, गाउँमा सिँचाईको कुलो आवश्यक थियो, बजेट आयो, काम गर्यौँ ।’ 

उनले थपे, ‘सबै अनुगमनमा आएर, हेरेर, ठिक छ भनेर भूक्तानी दिएको हो, फेरि चेक फिर्ता लगेको छ । नपाउने भन्ने कुरै हुँदैन ।’

अर्को उपभोक्ता समितका कोषाध्यक्ष रहेका चुडाराज भण्डारी खाँडादेवी गाउँपालिका वडा नम्बर ९ मा नेकपा एकिकृत समाजवाटी पार्टीबाट वडाध्यक्षको उम्मेदवार समेत थिए । यो विवाद सतहमा आएपछि उनी सम्पर्क विहिन छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved